काठमाडौं। केही दिनको गिरावटपछि सेयर बजार पुनः सुधारतर्फ फर्किएको छ । नाफा बुकिङको दबाब कम हुँदै जाँदा बजारमा लगानीकर्ताको सक्रियता बढेको छ । जसका कारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको हो। पछिल्लो दिन कारोबार दिन यता नेप्सेसूचकसँगै कारोबारमा समेत निरन्तर बढोत्तरी आएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा दुई तिहाइ नजिकको सरकार बन्ने निश्चित भएसँगै सेयर बजारमा उत्साह देखिएको छ। चुनावलगत्तै खुलेको पहिलो कारोबार दिनमै नेप्से परिसूचक करिब ६ प्रतिशतले बढेपछि बजार ‘सर्किट’ लागेर बन्द भएको थियो।
त्यसपछिका कारोबार दिनहरुमा भने बजार केही स्थिर बन्दै गएको छ। विशेषगरी न्यून मूल्य भएका कम्पनीहरूमा क्रमशः खरिद चाप बढ्दै गएको देखिएको छ, जसले लगानीकर्ताको जोखिम लिन तयार मनोविज्ञान झल्काउँछ ।
पछिल्ला तीन कारोबार दिनमा नेप्से सूचक करिब १३३ अंकले उकालो लागेको छ । गत मंगलबार १३.५१ अंकले बढेको बजार बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले उकालो लागेको थियो । यो सातको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २,९३१.५५ बिन्दुमा पुगेको छ, जसका कारण बजारमा लगानीकर्ताको उत्साह बढेको छ।
आइतबार ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन ३४२ कम्पनीको ५ करोड ६९ लाख कित्ता सेयर २१ अर्ब २२ करोड रुपैयाँमा कारोबार भएको थियो।
सबै १३ उपसमूहको परिसूचक बढेको छ। विशेषगरी माइक्रोफाइनान्स समूहले सर्वाधिक ४.२१ प्रतिशतको उछाल देखाएको छ। त्यस्तै होटल तथा पर्यटन ३.०५, निर्जीवन बीमा २.७२, बैंकिङ २.४९, विकास बैंक २.४६, फाइनान्स २.१३ र जीवन बीमा २ प्रतिशतले बढेका छन्।
आज १८३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। यस दिनको कारोबारमा कुमारी बैंकको ८५.९६ करोड र नेशनल हाइड्रोपावरको ७७.८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
घट्दो बजारका कारण पर्खेर बसेका लगानीकर्ताहरू पुनः प्रवेश गर्दा दैनिक कारोबारमा सुधार आएको हो। समग्रमा बैंकिङ क्षेत्रको नेतृत्वमा बजारमा व्यापक सुधार देखिँदा लगानीकर्ताको मनोबल पुनः बलियो बन्दै गएको संकेत देखिएको छ। विशेषगरी बैंकिङ, जलविद्युत् र विकास बैंक समूहमा खरिद चाप देखिएको छ।
विशेषज्ञहरूकाअनुसार निर्वाचनको परिणामपछि नयाँ राजनीतिक स्थिरताको अपेक्षाले बजारमा उत्साह थपिएको छ। बजारले २,९०० को मनोवैज्ञानिक बिन्दु पार गरेपछि लगानीकर्ताले नयाँ उच्चतम बिन्दुको लक्ष्यतर्फ आशा देखाएका छन्।
आर्थिकन्यूज