काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा करिब १५ लाख २८ हजार स्मार्टफोन आयात भएको छ। भन्सार विभागका अनुसार, साउनदेखि फागुनसम्म भित्रिएको स्मार्टफोनको कुल मूल्य २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ रहेको छ।
गत आवको सोही अवधिमा करिब १४ लाख ७ हजार स्मार्टफोन आयात भएको थियो, जसको मूल्य २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ थियो। यसरी हेर्दा चालु आवमा स्मार्टफोन आयातमा झन्डै १ लाख २१ हजार थान र ८ अर्ब बढी मूल्यमा वृद्धि भएको देखिन्छ।
आयातमा चीनको हिस्सा सबैभन्दा ठूलो रहेको छ। भन्सार विभागका अनुसार, आयात भएको स्मार्टफोनको ८५ प्रतिशत अर्थात १२ लाख ९२ हजार ३ सय थान चीनबाट आएको हो, जसको मूल्य २३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
मोबाइल आयातबाट चालु आवको आठ महिनामा ५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आवमा सोही अवधिमा राजस्व ४ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो।
पछिल्लो समय डिजिटल प्रविधि विस्तार, अनलाइन सेवा प्रयोगमा वृद्धि र सामाजिक सञ्जालप्रतिको आकर्षणले गर्दा स्मार्टफोनको माग उल्लेख्य रूपमा बढेको भन्सार विभागले जनाएको छ । विशेषगरी ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँच बढेसँगै स्मार्टफोनको प्रयोग व्यापक भएको छ।
नेपालमा स्मार्टफोन प्रायः चीन र भारतबाट आयात हुन्छन्। यस्तै, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र युएईजस्ता देशबाट पनि सीमित रूपमा स्मार्टफोन आयात हुने गरेको छ।
आर्थिकन्यूज