काठमाडौं। यामाहाले नेपालमा पहिलो हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यसले नेपालमा मोटरसाइकल उद्योगमा नयाँ मानक स्थापना गर्ने मात्र नभई, बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात पनि गरेको छ।
यो अनावरण कार्यक्रम काठमाडौंको कमलादीस्थित ७८.५ मिटर अग्लो स्काइ टावरमा आयोजना गरिएको थियो। यामाहाले उच्च स्थानमा कार्यक्रम गर्ने निर्णय नवप्रवर्तन र प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले गरेको थियो।
कार्यक्रम दुई चरणमा सञ्चालन भएको थियो। पहिलो चरणमा इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरलाई विशेष प्रिभ्युका लागि आमन्त्रण गरिएको थियो भने दोस्रो चरणमा सञ्चारकर्मी, व्यवसायिक साझेदार, डिलर तथा विभिन्न राइडिङ समुदायका सदस्यहरू सहभागी थिए। कार्यक्रममा यामाहा परिवारका सदस्य, अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, र यामाहा मोटर इन्डिया सेल्सका अधिकारीहरू उपस्थित थिए।
अनावरणको मुख्य आकर्षण एफजेड सिरिजको हाइब्रिड मोटरसाइकल थियो। यसमा १४९ सीसी फ्युल-इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको छ। यसले उच्च गतिको एक्सेलेरेशन, सहज स्टार्ट–स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन प्रदान गर्छ। विशेषगरी सहरी आवागमनमा यो प्रणाली अत्यन्त उपयोगी छ।
हाइब्रिड मोटरसाइकलले ६०+ कि.मी प्रति लिटरभन्दा बढी माइलेज दिन सक्ने क्षमता राख्छ। हल्का १३५ केजी तौल, सिंगल-च्यानल बोश एबीएस, २२० एमएम रियर डिस्क ब्रेक र चौडा रेडियल टायरले बाइकको स्थिरता र पकडलाई बढाएको छ।
अनावरण कार्यक्रममा ब्रान्ड एम्बेसडर अनुप विक्रम शाहीलाई पनि प्रस्तुत गरिएको थियो। यसले यामाहाको बोल्ड, स्टाइलिश र प्रदर्शनमुखी पहिचानलाई अझ मजबुत बनाएको छ।
कार्यक्रमको विशेष आकर्षणमा एक्सपिरियन्स जोन पनि थियो, जहाँ सहभागीहरूले २००८ देखि २०२६ सम्मको एफजेड सिरिजको इतिहास, डिजाइन र हाइब्रिड प्रविधि नजिकबाट अनुभव गर्न सके।
यस मोटरसाइकलमा एलईडी हेडलाइट, दुई तहको सिट, मिडशिप मफलर, इन्जिन अन्डर काउल, नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र E20 फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ।
यामाहाले देशभर १०० डिलरशिप, ९५ सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायक मार्फत ग्राहकलाई भरपर्दो आफ्टर सेल्स सेवा र स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ।
कार्यक्रमको समापनमा दीपक कुमार अग्रवालले भने, “यो उपलब्धि यामाहा परिवारको सामूहिक प्रयासको परिणाम हो। हामी सबै मिलेर नेपालको मोटरसाइकल उद्योगको भविष्य आकार दिन प्रतिबद्ध छौं।”
यस अनावरण कार्यक्रमले नेपालमा मोटरसाइकल उद्योगमा नयाँ युगको सुरुवातको संकेत दिएको छ र हाइब्रिड प्रविधि मार्फत प्रदर्शन, दक्षता र दिगोपनलाई नयाँ तरिकाले परिभाषित गरेको छ।

आर्थिकन्यूज