शीर्षकहरू

हरि खेतान क्याम्पस विवादले बिरगन्जमा दिनभरी तनाव :  परीक्षा स्थगित भएपछि विद्यार्थी सडकमा

कक्षा ११ र १२ का हजारौँ विद्यार्थी प्रत्यक्ष प्रभावित

हरि खेतान क्याम्पस विवादले बिरगन्जमा दिनभरी तनाव :  परीक्षा स्थगित भएपछि विद्यार्थी सडकमा

वीरगञ्ज । वीरगञ्ज स्थित हरि खेतान बहुमुखी क्याम्पसको विद्यार्थीहरुको आन्दोलनले वीरगन्ज आइतवार दिनभरी तनावमय रहयो । पूर्वनिर्धारित परीक्षा अचानक स्थगित गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिए पछि बिरगन्जमा तनाव उत्पन्न भएको थियो । आइतबार बिहानै परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूलाई मुख्य गेटमै रोकिएको थियो। आन्दोलनरत शिक्षकहरूले परीक्षा सञ्चालन हुन नसक्ने जानकारी दिएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए।

लामो समयदेखि तयारी गरेर आएका विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएपछि विरोधमा उत्रिन बाध्य भएको बताएका छन् । केहि बर्षदेखि चरम परिवारबादमा फसेको क्याम्पस व्यवस्थापनले गर्दा क्याम्पसमा समय समयमा शिक्षक बिद्यार्थीहरुको आन्दोलनको क्रमबढदै गएको हो ।  व्यवस्थापन समिति र प्राध्यापकबीच चल्दैआएको विवादले आइतबार उग्र रूप लिँदा कक्षा ११ र १२ का हजारौँ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । पूर्वनिर्धारित परीक्षा अचानक स्थगित गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका थिए भने दिनभर तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

विद्यार्थीहरूको समूहले क्याम्पस परिसरबाट नाराबाजी गर्दै प्रदर्शन सुरु गरेको थियो। ‘हाम्रो भविष्य माथि राजनीति बन्द गर’, ‘परीक्षा रोक्न पाइँदैन’ जस्ता नारासहित उनीहरूले क्याम्पस अगाडि धर्ना दिएका थिए। त्यसपछि प्रदर्शनकारीहरू घण्टाघर चोकतर्फ अघि बढेका थिए, जहाँ उनीहरूले सडक अवरुद्ध गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए। यसका कारण वीरगञ्जको मुख्य सडक केही समय पूर्ण रूपमा अवरुद्ध बनेको थियो।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच ठेलमठेल भएको थियो भने प्रहरीले लाठीचार्जसमेत गरेको थियो। लाठीचार्जबाट एक विद्यार्थी घाइते भएका थिए भने तीन जनालाई नियन्त्रणमा लिइएको थियो। यस घटनाले विद्यार्थीहरूको आक्रोश झन् बढाएको थियो।

आक्रोशित भीडले क्याम्पसको बसमा तोडफोड गर्नुका साथै फुटपाथमा रोपिएका बिरुवाहरू पनि नष्ट गरेको थियो। यसैबीच केही प्रदर्शनकारीहरूले क्याम्पस प्रमुखलाई भगाएको आरोप लगाउँदै एक युवकलाई घेरेर कुटपिटसमेत गरेका थिए। घटनापछि वीरगञ्जभर नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो।

कक्षा १२ का एक विद्यार्थीले विगत एक वर्षदेखि व्यवस्थापन र शिक्षकबीचको द्वन्द्वका कारण नियमित पढाइ तथा आन्तरिक परीक्षा प्रभावित हुँदै आएको गुनासो गरे। “हामीले बारम्बार यस्तो समस्या भोगिरहेका छौँ। अब त हाम्रो भविष्य नै अन्योलमा परेको छ,” उनले भने। यस्तै, अन्य विद्यार्थीहरूले पनि आफ्नो शैक्षिक सत्र नै जोखिममा परेको बताएका छन्।

विद्यार्थी संगठनका प्रतिनिधिहरूले क्याम्पसलाई निजीकरणतर्फ लैजाने प्रयास भइरहेको आरोप लगाएका छन्। उनीहरूले व्यवस्थापन र प्राध्यापकबीचको शक्ति संघर्षले विद्यार्थीहरूलाई मारमा पारेको भन्दै तत्काल समाधानको माग गरेका छन्। यता क्याम्पस सञ्चालक समितिका तर्फबाट भने शिक्षकहरूले नाजायज माग राखेर आन्दोलन गरेको आरोप लगाइएको छ।

प्राध्यापक पक्षका अनुसार उनीहरूले १६ बुँदे मागसहित व्यवस्थापनलाई पूर्वसूचना दिएका थिए। तर, व्यवस्थापनले मागप्रति कुनै चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा जानुपरेको उनीहरूको दाबी छ। यसलाई उनीहरूले ‘अहंकारको लडाइँ’ को संज्ञा दिएका छन्, जसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छ।

दिनभर चलेको तनावपछि साँझ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको संयोजनमा त्रिपक्षीय बैठक बसेको थियो। बैठकमा क्याम्पस प्रशासन, प्राध्यापक प्रतिनिधि र विद्यार्थी अगुवाहरू सहभागी थिए। उक्त बैठकले तत्काल परीक्षा सञ्चालन गर्ने, नियमित पठनपाठन सुचारु गर्ने र घाइते विद्यार्थीहरूको उपचारको व्यवस्था क्याम्पस प्रशासनले गर्ने सहमति गरेको छ।

यसका साथै क्याम्पसमा देखिएका दीर्घकालीन समस्याहरू समाधान गर्न पुनः छलफल गर्ने निर्णय पनि गरिएको छ। विद्यार्थीका बाँकी माग र समग्र विवाद समाधानका लागि अर्को बैठक बस्ने सहमति भएपछि प्रदर्शन स्थगित गरिएको छ।

स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूले सामुदायिक क्याम्पसमा देखिएको यस्तो विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले समयमै समस्या समाधान नगरे हजारौँ विद्यार्थीको भविष्य जोखिममा पर्ने चेतावनी दिएका छन्। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो राजनीतिक र प्रशासनिक खिचातानीले क्याम्पसको साखसमेत गिराएको उनीहरूको भनाइ छ।

हरि खेतान बहुमुखी क्याम्पस, जसलाई वीरगञ्जकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा चिनिन्छ, अहिले आन्तरिक विवादका कारण संकटमा परेको छ। करिब चार हजार विद्यार्थी अध्ययनरत यस क्याम्पसमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ। विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित राख्न तत्काल स्थायी समाधान खोजिनुपर्ने माग चौतर्फी रूपमा उठिरहेको छ।

क्याम्पसमा खेतान परिवारले ‘दादागिरी’ चलाएको आरोप
 हरिखेतान क्याम्पस व्यवस्थापनमा खेतान परिवारको हालिमुहालीले गर्दा क्याम्पसमा अध्यन अध्यापन भन्दा हालीमुहाली बढेकोले क्याम्सको प्रशासनका अवस्था लथालिगं भएको छ ।क्यम्पस प्रमुखबाट उमरहदको कारण देखाउदै पुर्व क्याम्पस प्रमुख भगवन यादवलाई गलहत्याइए पछि खेतान परिवार वादको वर्चश्व बढेको बताइन्छ ।वीरगन्जको शिक्षा धरोहरको रुपमा रहेको यो क्याम्पसमा छाडा प्रशासन व्यवस्थापनले गर्दा शिक्षक ,कर्मचारी र बिद्यार्थीहरुको आन्दोलनको क्रमबढदो छ ।

 प्राध्यापक सुशिल भट्टराईले सामाजिक सञ्जालमार्फत क्याम्पस व्यवस्थापन माथि गम्भीर आरोप लगाएका छन्। उनले सञ्चालक समितिमा खेतान परिवारको वर्चस्व रहेको र ‘दादागिरी’ शैलीमा क्याम्पस सञ्चालन भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । भट्टराईले यही एकल प्रभुत्व नै वर्तमान संकटको मुख्य कारण भएको दाबी गरेका छन्।

उत्ता स्थानिय पत्रकार जगत राई र ध्रुव साह लगायत स्थानीय बुद्धिजीवीहरूले पनि क्याम्पसको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल समाधानको माग गरेका छन ्। अचानक परीक्षा स्थगित भएपछि आक्रोशित विद्यार्थीहरूलाई क्याम्पस प्रवेशमै रोकिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।