काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा उक्त रिटको सुनुवाइका लागि पहिलो नम्बरमै पेशी तोकिएको छ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले रिट दायर गरेका हुन्।
यसअघि आइतबारदेखि बिहीबारसम्म चार दिनसम्म सुनुवाइ भएको थियो। त्यसक्रममा इजलासले महान्यायाधिवक्ताले माघ २ गते गरेको निर्णय झिकाउन आदेश दिँदै आजका लागि पुनः पेशी तोकेको थियो।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले अभियोगपत्र संशोधनसम्बन्धी निर्णयसहित सम्बन्धित कागजात झिकाउन आदेश दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले सुरुमा लामिछानेविरुद्ध मात्रै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर हटाउने निर्णय गरेको थियो। पछि माघ २ गते सहकारी प्रकरणका अन्य प्रतिवादीविरुद्ध पनि सहकारी ठगी बाहेकका कसुर नलगाउने निर्णय गरिएको थियो।
यसैबीच, सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूले अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दिएका छन्। तर सर्वोच्चमा विचाराधीन रिटको टुंगो लागेपछि मात्रै निर्णय गर्ने भन्दै जिल्ला अदालतहरूले प्रक्रिया अघि बढाएका छैनन्।
लामिछानेविरुद्ध कास्की, रूपन्देही, काठमाडौं र पर्साका सहकारी प्रकरणमा ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा दायर भएका छन्। चितवनमा भने त्यस्ता कसुर नलगाउने निर्णय गरिएको थियो।
लामिछानेले यसअघि आफूविरुद्धका थप कसुर हटाउन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। सोही आधारमा अभियोग संशोधन गर्ने निर्णय गरिएको थियो।
आर्थिकन्यूज