काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ८ महिनामा ६ हजार ४०० वटा विद्युतीय गाडी (कार, जीप भ्यान) भित्रिएका छन् । जसबाट ९ अर्ब ११ करोड रुपैयाँ राजस्व उठेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार यस अवधिमा ८ देशबाट नेपालमा उक्त मात्रामा ईभी आयात भएका हुन् । उक्त ईभी आयात गर्दा १४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ ।
कुन देशबाट कति ईभी भित्रिए ?
यो अवधिमा सबैभन्दा धेरै ईभी चिनबाट भित्रिएका छन् । चिनबाट मात्रै ६९ प्रतिशत ईभी भित्रिएका हुन् । विभागका अनुसार यो अवधिमा चिनबाट १० अर्ब ३० करोड रुपैयाँ बराबरको ४ हजार ३९९ वटा ईभी भित्रिएका छन् । जसमा ५० किलोवाट सम्मका १ हजार ३१३ वटा, ५१ देखि १०० किलोवाट सम्मका २ हजार ६१४ वटा, १०१ देखि २०० सम्मका ४६८ वटा र २०१ देखि ३०० किलोवाट सम्मका ४ वटा ईभी चिनबाट नेपाल आएका हुन् ।
यस्तै, भारतबाट ३ अर्ब २५ करोड रुपैयाँ बराबरको १ हजार ५३३ वटा ईभी आएका हुन् । ईभी आयातमा भारतको हिस्सा २३ प्रतिशत रहेको छ । भारतबाट ५० किलोवाट सम्मका तर एसेम्बल नभएका २ वटा, ५० किलोवाटसम्मका एसेम्बल भएका ८८५ वटा, ५१ देखि १०० किलोवाट सम्मका ६१७ वटा १०१ देखि २०० किलोवाट सम्मका २९ वटा ईभी आयात भएका छन् ।
त्यसैगरी, थाइल्याण्डबाट ४४० वटा, अमेरिकाबाट १२ वटा, जर्मनीबाट १०, दक्षिण कोरियाबाट २ र अस्ट्रेलियाबाट १ वटा र बेलायतबाट १ वटा ईभी नेपाल भित्रिएको छ ।

आर्थिकन्यूज