शीर्षकहरू

हर्मुज बन्द गर्ने इरानको चेतावनी, मध्यपूर्व तनाव चुलिँदै

हर्मुज बन्द गर्ने इरानको चेतावनी, मध्यपूर्व तनाव चुलिँदै

काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्व थप चर्किँदै जाँदा इरानले हर्मुज जलडमरू पूर्ण रूपमा बन्द गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकाले इरानविरुद्ध कडा सन्देश दिएपछि यस्तो प्रतिक्रिया आएको हो।

इरानले आफ्ना ऊर्जा संरचनामाथि आक्रमण भए तत्काल प्रतिकारस्वरूप हर्मुज बन्द गरिने जनाएको छ। यो जलडमरू विश्व तेल आपूर्तिको झन्डै पाँचौँ भाग ओसारपसार हुने मुख्य मार्ग हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलडमरू खुला राख्न ४८ घण्टे समयसीमा दिएका थिए। त्यसको जवाफस्वरूप इरानले कडा चेतावनी दिएको हो।

यसैबीच, इजरायलमा इरानी मिसाइल आक्रमणबाट दक्षिणी क्षेत्रका विभिन्न स्थानमा धेरै मानिस घाइते भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ठूलो मानवीय क्षति नभएकोलाई ‘अद्भुत’ बताएका छन्।

इरानले नातान्जस्थित आफ्नो प्रमुख आणविक केन्द्रमाथि भएको आक्रमणको प्रतिकारस्वरूप इजरायलको नेगेभ क्षेत्रमा मिसाइल प्रहार गरेको जनाएको छ। दक्षिण इजरायलका अस्पतालहरूले ठूलो संख्यामा घाइतेको उपचार भइरहेको बताएका छन्।

इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर कलीबाफले इरानका ऊर्जा संरचना निशाना बनाइए सम्पूर्ण क्षेत्रको ऊर्जा आपूर्ति र पानी प्रशोधन प्रणाली प्रभावित हुने चेतावनी दिएका छन्।

तनाव बढ्दै जाँदा हर्मुज जलडमरूमा जहाज आवागमन प्रभावित हुन थालेको छ। यद्यपि इरानले शत्रु देशबाहेकका जहाजलाई आवागमन अनुमति दिएको जनाएको छ।

क्षेत्रीय द्वन्द्व चर्किँदै जाँदा अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ता बढ्दै गएको छ।