शीर्षकहरू

बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेटघाट तथा छलफल

बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेटघाट तथा छलफल

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटघाट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल गरेको छ।

भेटका क्रममा मुख्यमन्त्री बानियाँले अध्यक्ष उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको कामना गरे। उनले नाडाले विगत ५० वर्षदेखि अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संस्थाको प्रशंसा गरे।

छलफलका क्रममा बागमती प्रदेशमा देशका करिब ५० प्रतिशत सवारी साधन दर्ता हुने सन्दर्भ उल्लेख गर्दै राजधानी क्षेत्रमा ट्राफिक व्यवस्थापन र पार्किङजस्ता समस्याहरू समाधान गर्न प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको धारणा मुख्यमन्त्री बानियाँले राखे। साथै, आवश्यक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा सवारी साधनका लागि ट्रायल सेन्टर स्थापना गर्न पनि सहकार्य गर्न सकिने बताए।

नाडाका अध्यक्ष उप्रेतीले नाडामा ७ वटा प्रदेशसहित २,८०० भन्दा बढी सदस्य कम्पनी आबद्ध रहेको जानकारी दिँदै नेपालको अटोमोबाइल क्षेत्रमा एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको बताए। उनले वार्षिक रूपमा करिब ५,००० जनशक्तिको आवश्यकता पर्ने पनि जानकारी गराए। उनले बागमती प्रदेश सरकारसँग सहकार्य गर्न सकिने विभिन्न क्षेत्र पहिचान गरी मोडालिटी तयार पारेर प्रस्ताव पेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रले देशको प्रतिभा पलायन रोक्न योगदान दिइरहेको उल्लेख गर्दै सीपमूलक तालिम कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले प्रदेश सरकारसँग सहकार्य गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल क्षेत्रमा तीव्र रूपमा भइरहेको प्रविधिगत परिवर्तनअनुसार दक्ष जनशक्ति उत्पादन चुनौतीपूर्ण बन्दै गएको बताए। उनले आवश्यक तालिम तथा स्रोतसाधन अभावका साथै प्रशिक्षकको कमी पनि रहेको बताए। उक्त छलफलमा नाडाका पदाधिकारीहरू, केन्द्रीय कार्यसमिति सदस्यहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।