शीर्षकहरू

इरानमा आक्रमण रोक्ने ट्रम्पको संकेतपछि विश्व बजारमा तेलको मूल्य १३ प्रतिशत घट्यो

इरानमा आक्रमण रोक्ने ट्रम्पको संकेतपछि विश्व बजारमा तेलको मूल्य १३ प्रतिशत घट्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार भारी गिरावट आएको छ। ट्रम्पले इरानसँग सकारात्मक वार्ता भइरहेको भन्दै पाँच दिनका लागि इरानी ऊर्जा पूर्वाधारमा कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेपछि ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशत घटेर ९६ डलर प्रतिब्यारेलमा झरेको छ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथसोसल’ मा सबै अक्षर ठूला गरेर प्रकाशित गरेको पोस्टमा उल्लेख गरेका छन्, “संयुक्त राज्य अमेरिका र इरानबीच विगत दुई दिनमा मध्यपूर्वका हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानका लागि धेरै राम्रो र फलदायी कुराकानी भएको छ। यी गहन, विस्तृत र रचनात्मक वार्ताका आधारमा मैले युद्ध विभागलाई इरानी ऊर्जा केन्द्रहरू तथा पूर्वाधारमाथि कुनै पनि सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु।”

यस घोषणा पश्चातै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट क्रुडको मूल्य ८.२ प्रतिशतले घटेर ९०.२० डलर प्रतिब्यारेल पुगेको छ। यस्तै, ग्यासको मूल्य पनि १५९ पेन्सबाट १३९ पेन्समा झरेको बीबीसीले जनाएको छ।

विश्लेषकका अनुसार, इरानको होर्मुज स्ट्रेटबाट विश्वको २० प्रतिशतभन्दा बढी कच्चा तेल ढुवानी हुने भएकाले यस क्षेत्रमा सम्भावित आक्रमणले बजारमा ठूलो असुरक्षा सिर्जना गर्ने जोखिम थियो। ट्रम्पले पाँच दिन आक्रमण नगर्ने घोषणासँगै बजारमा केही शान्ति र स्थायित्व फर्किएको छ।

ट्रम्पले आफ्नो पोस्टमा थप उल्लेख गरेका छन्, “विगत दुई दिनमा भएका वार्ता तनावको पूर्ण समाधानतर्फ सकारात्मक दिशामा अघि बढेका छन्। वार्ता आगामी सात दिनसम्म जारी रहनेछ।”