शीर्षकहरू

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई तीन करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण भएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले कायम गरेको मूल्यअनुसार टावर निर्माण भएको जग्गाका धनीहरूलाई मात्र हालसम्म तीन करोड २९ लाख ६४ हजार ५६७ रुपैयाँ मुआब्जा वितरण भएको हो ।

आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले मुआब्जाबापत दुई करोड २९ लाख २९ हजार ७२८ रुपैयाँ वितरण भएको जानकारी दिए। उनले भने, “आयोजनाको ऋण लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)को कार्यविधिअनुसार गरिब, महिला प्रमुख घरपरिवार, दलित÷जनजाति, अशक्तको आधारमा थप रु एक करोड ३४ हजार ८३९ वितरण भइसकेको छ । ”

पच्चीस किलोमिटर दूरीको प्रसारण लाइनका ८२ टावरमध्ये ४० वन क्षेत्र र ४२ व्यक्तिगत जग्गामा छन् । हालसम्म ६६ जनाले मुआब्जा लगिसकेका र सात जनाले मुआब्जा लैजाने प्रक्रियामा रहेका प्रशासकीय अधिकृत तिमिल्सिनाले बताए। विसं २०७९ मा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको उपसमितिले यस आयोजनाको टावर रहने जग्गाका धनीहरूलाई प्रतिरोपनी रु नौ लाखदेखि रु १३ लाख ५० हजारका दरले मुआब्जा निर्धारण गरेको थियो ।

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने जग्गाका धनीहरूलाई पनि क्षतिपूर्ति वितरण गर्न दररेट निर्धारणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको बीच भागदेखि दायाँ र बायाँ नौ–नौ मिटरमा रहेको निजी जग्गाका धनीहरूले क्षतिपूर्ति पाउने व्यवस्था छ ।

चार सय ५४ कित्ता जग्गा प्रसारण लाइनको तारमुनि भोगाधिकार क्षेत्रमा पर्ने प्रारम्भिक विवरण सङ्कलन भएको छ । यसैगरी क्षतिपूर्ति वितरणका लागि पहिलो चरणमा तारमुनि पर्ने २२ वटा घरटहराको पहिचान भएको छ । तारमुनि पर्ने थप भौतिक संरचनाको पहिचान कार्यलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । आयोजनाले सबस्टेशन निर्माणका लागि मालिका गाउँपालिका–७ बिमको डाँडाखेतमा ५१ रोपनी र रघुगङ्गा गाउँपालिका–३ राहुघाट अम्बाङमा ९० रोपनी जग्गा अधिग्रहण गरेको थियो । वन क्षेत्र प्रयोग गरेबापत रु चार करोड ५० लाखमा ५०४ रोपनी जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराइसकेको छ ।

प्रसारण लाइन प्रभावित क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ जनालाई सवारी चालक, १५ जनालाई हाउसवायरिङ र प्रभावित क्षेत्रमा पर्ने १९ सामुदायिक वनका दुई–दुई जनालाई गैरकाष्ठ वनपैदावार तालिम प्रदान गरिएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको मागअनुसार वन डढेलो नियन्त्रण र प्रशासनीय कार्य सञ्चालनमा आवश्यक सामग्री वितरण गरेको आयोजनाले प्रभावित क्षेत्रका १८ वटा सामुदायिक विद्यालय तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी गरेको छ । आयोजना प्रभावित मालिका गाउँपालिका–७, ६, मङ्गला गाउँपालिका–१, २, बेनी नगरपालिका–५, ९ र रघुगङ्गा गाउँपालिका–३ का मठमन्दिर, आमा समूह, विद्यालयलाई निर्माणजन्य जिन्सी सामग्री वितरण गरिएको छ । विभिन्न ठाउँमा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ ।

भौतिक प्रगति ७८ प्रतिशत

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ७८ प्रतिशत भौतिक प्रगति भएको छ । म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन यो आयोजना सञ्चालन भएको हो ।

प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा तीन अर्ब ५७ करोड रुपैयाँमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । पहिलोपटकको म्याद गत जुलाई १६ र दोस्रोपटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रोपटक म्याद थपिएको छ ।

प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सबस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधि लम्बिएको आयोजना प्रमुख रोशन अग्रवालले बताए। उनका अनुसार अबको पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले निर्माणकार्यलाई तीव्रता दिएका छन् ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ८२ वटामध्ये ७१ वटा खडा भएका छन् । दुईवटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । दश दशमलव पाँच किलोमिटरमा तार तान्ने काम पनि सकिएको आयोजनाका इन्जिनियर सुरज गुरुङले बताए। प्रसारण लाइन र सबस्टेशनको उपकरण आयात भइसकेको छ ।

डाँडाखेतको सबस्टेशनमा ९५ प्रतिशत, प्रसारण लाइनमा ७० प्रतिशत र राहुघाट सबस्टेशनमा ६५ प्रतिशत प्रगति भएको छ । एलएनटीका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थपेर तोकिएको समयभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाए। एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सबस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी छ । एसियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लोपटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एसियाली विकास बैंकले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाँडाखेत प्रसारण लाइन बनाउन ऋण लगानी गरेको हो ।

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१।३ मेगावाट क्षमताको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।

चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका छन् ।