काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढ्दै निरन्तर उकालो यात्रामा देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको हो।
यस दिन ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।
उपसमूहतर्फ १३ मध्ये ८ समूहको परिसूचक बढ्दा ५ समूह ओरालो लागेका छन्। व्यापार समूह सर्वाधिक ९.१२ प्रतिशतले बढेको छ भने विकास बैंक र जलविद्युत समूह पनि उकालो लागेका छन्। यता होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र अन्य समूह घटेका छन्।
यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका लगानीकर्ताले सकारात्मक सर्किटको लाभ उठाएका छन्। साथै हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतसम्म बढेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी र अपी पावर कम्पनी अग्रस्थानमा रहे।
पछिल्लो पाँच कारोबार दिनदेखि बजार निरन्तर बढिरहेको छ। यसअघि आइतबार ५४.५१ अंक र सोमबार ५.०१ अंकले बढेको बजारमा मंगलबार पनि सुधार जारी रह्यो।
विश्लेषकहरूका अनुसार नयाँ सरकार गठनको तयारी, नीतिगत स्थिरताको अपेक्षा र लगानीकर्ताको मनोबलमा सुधारका कारण बजारमा उत्साह देखिएको हो। लामो समय स्थिर रहेको बजारमा पछिल्ला दिनमा देखिएको उछालले लगानीकर्तामा नयाँ आशा थपेको छ।
आर्थिकन्यूज