शीर्षकहरू

विश्वका प्रमुख समुद्री ५  ‘चोक प्वाइन्ट’हरू जहाबाट विश्वभरीको तेल–ग्यास आपूर्ति हुन्छ

विश्वका प्रमुख समुद्री ५  ‘चोक प्वाइन्ट’हरू जहाबाट विश्वभरीको तेल–ग्यास आपूर्ति हुन्छ

काठमाडौं । ईरान, अमेरिका र इजरायलबीच बढ्दो तनावका कारण खाडी क्षेत्रबाट तेल–ग्यास आपूर्तिमा संकट देखिएको छ। यसको मुख्य कारण होर्मुज जलडमरूमध्य हो । जुन ईरान र ओमानबीच रहेको संकरा समुद्री मार्ग हो।

विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै भारत, चीन लगायतका देशहरूमा पुग्ने गर्दछ। यस क्षेत्रमा आपूर्ति अवरुद्ध हुने खतरा बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढिरहेको छ।

तर होर्मुज मात्र यस्तो महत्वपूर्ण मार्ग होइन। विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण अन्य धेरै समुद्री ‘चोक प्वाइन्ट’हरू पनि रहेका छन् । 

 मलक्का जलडमरूमध्य

यो मार्ग इन्डोनेसिया, मलेसिया र सिंगापुरबीच अवस्थित छ। यसले हिन्द महासागरलाई प्रशान्त महासागरसँग जोड्छ। चीन, जापान र दक्षिण कोरियातर्फ जाने अधिकांश तेल तथा कच्चा पदार्थ यही बाटो हुँदै जान्छ। होर्मुजपछि यो विश्वकै दोस्रो व्यस्त तेल मार्ग हो।

 बाब–अल–मन्डेब

यो मार्ग रेड सागर र अदनको खाडीबीच, यमन र जिबूती नजिक पर्छ। यसलाई “आँसुको द्वार” पनि भनिन्छ। स्वेज नहरमार्फत यूरोप–एशिया व्यापारको मुख्य प्रवेशद्वार भएकाले यसको रणनीतिक महत्व धेरै छ।

 स्वेज नहर

यो मिस्रमा रहेको कृत्रिम नहर हो, जसले रेड सागरलाई भूमध्य सागरसँग जोड्छ। यस नहर बिना जहाजहरूले पूरै अफ्रिका घुम्नुपर्छ। विश्व व्यापारको करिब १२५ यही मार्ग हुँदै हुन्छ।

पनामा नहर

यो नहरले अटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ। अमेरिकी महादेशबीचको व्यापारका लागि यो सबैभन्दा छोटो मार्ग हो। पानीको सतह घट्दा यहाँ ट्राफिक समस्या पनि देखिने गर्छ।

बोस्फोरस जलडमरूमध्य र डार्डानेल्स जलडमरूमध्य

यी दुवै टर्कीमा अवस्थित छन् र ब्ल्याक सागरलाई भूमध्य सागरसँग जोड्छन्। रूस र युक्रेनका लागि समुद्रसम्म पुग्ने मुख्य मार्ग यही हो। अनाज र तेल निर्यातका लागि पनि यो अत्यन्त महत्वपूर्ण छ।