काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी वीक–२०२६ को अवसरमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिका र युवामा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रममा वित्तीय अनुशासन, बचत, लगानी तथा जिम्मेवार आर्थिक निर्णयसम्बन्धी जानकारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सन् २०१२ देखि विश्वभर मनाइँदै आएको यस अभियान यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मार्च १६ देखि २२ (चैत २–८) सम्म सञ्चालन गरिएको हो ।
क्यापिटलले चैत ३ गते काठमाडौंको कलंकीस्थित वितारा बालग्राम, चैत ६ गते मोरङको हरैचा स्थित श्री जनता माध्यमिक विद्यालय र चैत ८ गते भक्तपुरको बोडे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा विद्यालय प्रशासनका कर्मचारीहरूबीच वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममार्फत सानै उमेरदेखि आर्थिक रूपमा सचेत बनाउँदै जिम्मेवार वित्तीय व्यवहार विकासमा टेवा पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने क्यापिटलको प्रतिबद्धता छ ।
माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । धितोपत्र बोर्डबाट अनुमति प्राप्त यस संस्थाले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशनलगायत सेवा प्रदान गर्दै आएको छ ।
आर्थिकन्यूज