काठमाडौं। बझाङको बित्थडचिर गाउँपालिकास्थित सडक निर्माणमा अनियमितता गरेको आरोपमा पूर्व कर्मचारी र निर्माण व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले फागथला धारी डोबा सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी देखाएर भुक्तानी लिएको ठहर गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार सडकअन्तर्गत सिँचाइ क्यानाल तथा ह्युम पाइप कल्भर्ट निर्माण कार्य सम्झौताअनुसार सम्पन्न नभए पनि नापी किताब र प्रतिवेदनमा बढी काम भएको देखाएर भुक्तानी लिइएको पाइएको छ ।
नापीमा ३३८ मिटर क्यानाल उल्लेख भए पनि स्थलगत रूपमा २४८ मिटर मात्रै निर्माण भएको भेटिएको छ भने केही संरचना निर्माण नै नभएको अनुसन्धानबाट खुलेको छ ।
यसरी झुटा बिल र प्रतिवेदन तयार गरी ८ लाख ४८ हजार ९६२ रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरिएको आयोगको निष्कर्ष छ ।
मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब–इन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी भुमिराज कन्स्ट्रक्सनका प्रोप्राइटर मानबहादुर बोहोरालाई प्रतिवादी बनाइएको छ ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कैद, जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको आयोगले जनाएको छ ।
आर्थिकन्यूज