काठमाडाैँ । ललितपुरमा स्वास्थ्य सेवा र यातायात क्षेत्रबिचको सहकार्यलाई निरन्तरता दिँदै पुरानो सम्झौताको नवीकरण गरिएको छ। भैंसेपाटीस्थित नेपाल मेडिसिटी र नेपाल ट्रक यातायात व्यवसायी महासंघबिच यसअघि देखि सञ्चालनमा रहेको उपचार सेवा सम्बन्धी सहकार्यलाई पुनः निरन्तरता दिने गरी नयाँ सम्झौता गरिएको हो।
नवीकृत सम्झौताअनुसार महासंघअन्तर्गत आवद्ध संघ–समितिबाट पठाइने बिरामीलाई मेडिसिटीले प्राथमिकताका साथ उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउनेछ। आकस्मिक अवस्थामा बिरामी आउनुअघि अस्पताललाई जानकारी दिनुपर्ने र अधिकतम ४८ घण्टाभित्र आधिकारिक पत्र पठाउनुपर्ने व्यवस्था कायम राखिएको छ।
बिरामीको अवस्थाअनुसार अस्पतालले अनुमानित उपचार खर्चको विवरण उपलब्ध गराउनेछ भने आवश्यकताअनुसार त्यसमा परिमार्जन गरिनेछ। दुर्घटनामा परेका बिरामीलाई चिकित्सकको सल्लाहअनुसार सामान्य वार्डमा प्राथमिकता दिइनेछ भने क्याबिन सेवा आवश्यक परे लिखित अनुरोध अनिवार्य गरिएको छ।
साथै, उपचारसम्बन्धी जानकारी लिन महासंघका प्रतिनिधिलाई सम्बन्धित चिकित्सकसँग भेट गराई जानकारी दिने व्यवस्था पनि रहेको छ। भुक्तानी व्यवस्थातर्फ, प्रति बिरामी १० लाख रुपैयाँसम्मको उपचार खर्च क्रेडिटमा डिस्चार्ज गर्न सकिने र सोभन्दा बढी खर्च भए उपचारकै क्रममा अग्रिम रकम जम्मा गर्नुपर्ने प्रावधान यथावत् राखिएको छ।
डिस्चार्जपछि बाँकी रकम ३० दिनभित्र चुक्ता गर्नुपर्नेछ। सम्झौतामा छुट सुविधालाई समेत निरन्तरता दिइएको छ। महासंघसँग आवद्ध सदस्य, कर्मचारी तथा तिनका परिवारलाई अस्पतालका सेवामा अधिकतम १० प्रतिशतसम्म छुट दिइनेछ भने दुर्घटनामा घाइते बिरामीको हकमा उपचार खर्चअनुसार १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। औषधि, इम्प्लान्ट तथा बाह्य सेवामा भने छुट लागू नहुने जनाइएको छ।
त्यस्तै, एक वर्षभित्र दुई करोड रुपैयाँभन्दा बढी कारोबार भई पूर्ण भुक्तानी भएको अवस्थामा आगामी वर्षहरूमा ‘इन्फेक्सन कन्ट्रोल चार्ज’मा ५० प्रतिशतसम्म अतिरिक्त छुट दिने प्रावधान पनि यथावत् राखिएको छ। दुवै पक्षले सडक दुर्घटना न्यूनीकरण, स्वास्थ्य सचेतना अभिवृद्धि, रक्तदान कार्यक्रम तथा मेडिकल क्याम्प सञ्चालनजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू संयुक्त रूपमा अघि बढाउने सहमति गरेका छन्।
यो सम्झौता तीन वर्षका लागि लागू हुनेछ। कुनै पक्षले खारेज गर्न चाहेमा ३० दिनअघि लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ। सम्झौतामा मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले हस्ताक्षर गरेका छन्।
आर्थिकन्यूज