काठमाडौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम चितवनमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिका–८ का वडा अध्यक्ष शंकर कडेलले वित्तीय साक्षरताले नागरिकलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले स्थानीय तह र वित्तीय संस्थाबीच सहकार्यमार्फत आर्थिक सशक्तीकरणलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे।
कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सागर पन्तले वित्तीय कारोबारलाई सुरक्षित र पारदर्शी बनाउन सबै सचेत हुनुपर्नेमा जोड दिए। उनले ठगी तथा वित्तीय अपराधबाट जोगिन सचेतना अत्यन्त आवश्यक रहेको बताए।
त्यसैगरी, मेरोमाइक्रोफाइनान्सका बागमती तथा गण्डकी प्रदेश प्रमुख जितेन्द्र काजी थापा र अनुगमन कार्यालय चैनपुर, चितवनका प्रमुख कृष्ण प्रसाद उप्रेतीले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू र सेवाबारे जानकारी गराउँदै वित्तीय अनुशासन र जिम्मेवार ऋण प्रयोगमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी सेवाग्राहीहरूलाई बचत, ऋण व्यवस्थापन, आय–व्यय सन्तुलन तथा योजनाबद्ध लगानीका विषयमा जानकारी प्रदान गरिएको थियो। ग्राहक गुनासो सुनुवाइ सत्रमा सेवाग्राहीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरू राखेका थिए।
ग्राहकको तर्फबाट मन्तव्य राख्दै सदस्यहरू सुस्मा सिवाकोटी र विद्या महतोले यस्ता कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बन्न मद्दत पुगेको बताएका थिए।
कार्यक्रमले सेवाग्राही र संस्थाबीच आपसी विश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय सचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
आर्थिकन्यूज