काठमाडौं । नेपालको सेयर बजार पुनः विस्तारको गतिमा अघि बढेको छ । मंगलबार कुल बजार पुँजीकरण ५० खर्ब रुपैयाँ नाघ्दै नयाँ उचाइतर्फ उन्मुख भएको हो । जीडीपीको करिब ८० प्रतिशत बराबर पुगेको सेयर बजारमा राजनीतिक स्थिरता र नयाँ सरकारबाट पूँजी बजारमैत्री नीति आउने अपेक्षाले लगानीकर्ता उत्साहित देखिएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार चैत १० गते कुल पुँजीकरण ५० खर्ब २ अर्ब १६ करोड १३ लाख रुपैयाँ पुगेको हो। यसअघि साउन १३ गते ५० खर्ब ९ अर्ब ४६ करोड रुपैयाँ पुगेर उच्च रेकर्ड बनेको थियो। हालको उकालो प्रवृत्ति कायम रहे निकट भविष्यमै बजारले नयाँ ऐतिहासिक कीर्तिमान बनाउने संकेत देखिएको छ।
सेयर बजारको पुँजीकरणजीडीपीको करिब ८० प्रतिशत
हाल नेपालको कुल जीडीपी करिब ६२ खर्ब रुपैयाँ रहेको अवस्थामा सेयर बजारको पुँजीकरण ५० खर्ब पार गर्नु अर्थतन्त्रसँग तुलना गर्दा ठूलो उपलब्धि मानिएको छ। यो जीडीपीको करिब ८० प्रतिशत बराबर हो। विकसित देशहरूमा भने यस्तो अनुपात अझ उच्च रहने गरेको छ, जहाँ बजार पुँजीकरण प्रायः जीडीपीभन्दा बढी हुन्छ।
सेयर मूल्य केवल वर्तमान आम्दानीमा आधारित हुँदैन। कम्पनीको भविष्य, विस्तार योजना, प्रविधि र नवप्रवर्तनप्रतिको अपेक्षाले मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्छ। साथै, विदेशी लगानी र लगानीकर्ताको विश्वासले पनि बजार विस्तारमा टेवा पु¥याउँछ।
नयाँ कम्पनीको प्रवेशले बजार विस्तार, प्राविधिक संकेतः बजार अझै माथि जान सक्ने
गत वर्ष र चालु वर्षमा २४ नयाँ कम्पनी सूचीकृत भएका छन्। ती कम्पनीहरूले मात्रै ८२ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर थप गर्दै करिब २ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको पुँजीकरण योगदान गरेका छन्। सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, बन्दीपूर तथा एसवाई प्यानल जस्ता कम्पनीहरूको उच्च पुँजीकरणले बजार विस्तारमा उल्लेखनीय भूमिका खेलेको छ।
मंगलबारको मैनबत्ती विश्लेषणमा हरियो इन्भर्टेड ह्यामर आकृति बनेको छ, जसले बजारमा खरीदकर्ता सक्रिय र विक्रेता कमजोर बन्दै गएको संकेत गर्छ। यसले आगामी दिनमा बजार अझै उकालो लाग्ने सम्भावना देखाउँछ।
व्यापारिक समूहमा सबैभन्दा उच्च ९.१२ प्रतिशत वृद्धि भएको छ। विकास बैंक, बैंकिङ, वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूह पनि बढेका छन्। तर होटल तथा पर्यटन, बीमा, लघुवित्त लगायत केही समूहमा गिरावट देखिएको छ।
पाँच दिनदेखि निरन्तर उकालो, ३२२७ विन्दुको ऐतिहासिक उच्च रेकर्डतर्फ बजार
पछिल्ला पाँच कारोबार दिनदेखि नेप्से निरन्तर बढिरहेको छ। यसैबीच मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको छ। मंगलबार सूचक दिनभरकै उच्च विन्दुमा बन्द भएको थियो। १३७ कम्पनीको शेयर मूल्य बढ्दा ११७ कम्पनीको घट्यो भने ११ कम्पनी स्थिर रहे।
सूचक अझै ३२२७ विन्दुको ऐतिहासिक उच्च रेकर्डभन्दा तल भए पनि बजार पुँजीकरण भने पुनः नयाँ रेकर्डतर्फ उन्मुख देखिएको छ । आगामी दिनमा सामान्य वृद्धि भए पनि पुँजीकरणले नयाँ कीर्तिमान कायम गर्ने सम्भावना देखिएको छ।
साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, बुझुङ्ग हाइड्रोपावर, होटल फरेष्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकका शेयरहरू पनि उच्च दरमा बढेका छन्।
यद्यपि, पछिल्ला दुई दिनमा कारोबार रकम घटेको छ। मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा कम हो। कारोबार मात्रा पनि केही घटेको देखिन्छ।
राजनीतिक स्थिरता र नयाँ सरकारबाट पूँजी बजारमैत्री नीति आउने अपेक्षाले लगानीकर्ता उत्साहित देखिएका छन्। बजारको वर्तमान गति कायम रहेमा निकट भविष्यमै नयाँ ऐतिहासिक उचाइ कायम हुने संकेत देखिएको छ।
आर्थिकन्यूज