शीर्षकहरू

गरिमा सुवर्ण योजनामा आवेदन दिने अन्तिम दिन, ३.५ करोड इकाई सर्वसाधारणका लागि

गरिमा सुवर्ण योजनामा आवेदन दिने अन्तिम दिन, ३.५ करोड इकाई सर्वसाधारणका लागि

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले निष्कासन गरेको ‘गरिमा सुवर्ण योजना’ म्युचुअल फन्डमा आवेदन दिने आज (चैत ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २८ गतेदेखि इकाई बिक्री खुला गरेको थियो।

कुल एक अर्ब रुपैयाँ आकारको यस योजनाअन्तर्गत पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई निष्कासन गरिएको हो, जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ रहेको छ।

निष्कासन गरिएका कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ।

यो खुलामुखी (ओपन–एन्ड) योजना भएकाले बाँकी इकाईहरू सामूहिक लगानी कोषसम्बन्धी नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिनेछ।

योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। 

लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट ‘सी–आस्बा’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ वेब तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।