काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी विस्तार गर्न नसक्दा नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ । अधिक तरलताको रकम व्यवस्थापनका लागि आज केन्द्रीय बैंकले थप ४० अर्ब खिच्ने भएको छ । विगत तीन वर्षदेखि लगातार रुपमा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएर बसेको हो ।
पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । गत आइतबार मात्रै केन्द्रीय बैंकले प्रणालीबाट १४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न चाहेकोमा बैंकहरुले २७ अर्ब ८० करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २.७३ प्रतिशत कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकले आज पुनः ४० अर्ब खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनको सो रकम संकलन गर्न लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने २०८३ वैशाख २ गते साँवा तथा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । यसअधि संकलन गरेको ३० अर्ब निक्षेप आजै परिपक्क हुँदैछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको छ। निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।
हालसम्म राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत खिचेको ५ खर्ब ५२ अर्ब ५० करोड केन्द्रीय बैंकमा जम्मा रहेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधामा बैंकहरुले १ खर्ब ४९ अर्ब ६० करोड जम्मा गरेका छन् । त्यस्तै ऋणपत्र मार्फत संकलन गरेको २ खर्ब रुपैयाँ पनि राष्ट्र बैंकमा रहेको छ । हालसम्म बैंकहरुले लगानी गर्न नसकेको ९ खर्ब २ अर्ब १० करोड राष्ट्र बैंकमा जम्मा भएको छ ।
गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ त्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकलाई निकै सकश परेको छ ।
आर्थिकन्यूज