शीर्षकहरू

मध्यपूर्व द्वन्द्वको असर न्यूनीकरण गर्न एडीबीको विशेष सहायता प्याकेज घोषणा

मध्यपूर्व द्वन्द्वको असर न्यूनीकरण गर्न एडीबीको विशेष सहायता प्याकेज घोषणा

काठमाडौँ । एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न आर्थिक तथा वित्तीय असर न्यूनीकरण गर्न विकासशील सदस्य राष्ट्रहरूका लागि विशेष वित्तीय सहायता प्याकेज घोषणा गरेको छ।

एडीबीका अध्यक्ष मासातो कान्डाका अनुसार द्वन्द्वका कारण बढ्दो वैश्विक अनिश्चितताबीच सदस्य राष्ट्रहरूलाई तत्काल दबाब व्यवस्थापन गर्न र दीर्घकालीन आर्थिक उत्थानशीलता सुदृढ गर्न द्रुत, लचिलो र विस्तारयोग्य सहयोग उपलब्ध गराइनेछ।

उनले विशेषगरी अत्यावश्यक वस्तु तेलसहित आयात सुनिश्चित गर्न छिटो निकासा हुने बजेट सहायता तथा व्यापार र आपूर्ति शृंखला वित्तपोषणमार्फत सहयोग गरिने स्पष्ट पारे। एडीबीले विश्वव्यापी संकटका समयमा एशिया–प्रशान्त क्षेत्रलाई सहयोग गर्दै आएको अनुभवलाई यस प्याकेजले थप सुदृढ बनाउने पनि जनाएको छ।

बैंकसँग हाल सञ्चालनमा रहेका तथा योजनाबद्ध कार्यक्रमलाई सुरक्षित राख्न पर्याप्त स्रोतसाधन रहेको उल्लेख गर्दै आवश्यकता अनुसार काउन्टर साइकलिकल ऋण बफर प्रयोग गरी आपतकालीन सहयोग विस्तार गर्न सकिने बताइएको छ।

एडीबीले विश्व बजारमा भइरहेको परिवर्तन, विशेषगरी ऊर्जा मूल्यको अस्थिरता, मुद्रास्फीतिको दबाब र बाह्य खाता सन्तुलनमा पर्ने प्रभावलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

पछिल्लो विश्लेषणअनुसार समुद्री ढुवानी मार्गमा आएको अवरोधले ढुवानी लागत र समय बढाएको छ। ऊर्जा बाहेक पेट्रोकेमिकल र मलजस्ता औद्योगिक कच्चा पदार्थको आपूर्ति जोखिममा परेकाले कृषि उत्पादन र खाद्य सुरक्षामा गम्भीर असर पर्ने देखिएको छ।

पर्यटन र विप्रेषणमा निर्भर अर्थतन्त्रहरू थप जोखिममा पर्ने तथा द्वन्द्वले क्षेत्रीय वित्तीय अवस्थालाई कसिलो बनाउँदै मुद्रा र पुँजी प्रवाहमा दबाब सिर्जना गरेको एडीबीले औँल्याएको छ।

यस परिस्थितिमा एडीबीले दुई मुख्य माध्यमबाट सहयोग परिचालन गर्ने जनाएको छ। पहिलो, वित्तीय दबाब झेलिरहेका देशहरूलाई छिटो वितरण हुने बजेट सहायता उपलब्ध गराइनेछ, जसमा काउन्टरसाइकलिकल सपोर्ट सुविधा प्रयोग गरी अर्थतन्त्र स्थिर राख्न सहयोग गरिनेछ।

दोस्रो, व्यापार तथा आपूर्ति शृंखला वित्तपोषण कार्यक्रममार्फत निजी क्षेत्रलाई सहयोग गर्दै ऊर्जा, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आयात निरन्तरता सुनिश्चित गरिनेछ। विशेष अवस्थामा सीमित अवधिका लागि तेल आयातका लागि सहयोग पुनः सक्रिय गर्ने निर्णयसमेत गरिएको छ।

एडीबीले प्रभावित राष्ट्रहरूसँग तत्काल सहयोगका विषयमा छलफल सुरु गरिसकेको र सरकार, विकास साझेदार तथा निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक स्थायित्व कायम राख्न तथा जोखिममा रहेका जनसंख्याको संरक्षण गर्न प्रतिबद्ध रहेको जनाएको छ।

सन् १९६६ मा स्थापना भएको एडीबी एशिया-प्रशान्त क्षेत्रमा दिगो, समावेशी र उत्थानशील विकासका लागि काम गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। हाल यसका ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० राष्ट्र यसै क्षेत्रका रहेका छन्।