काठमाडौं । लगातार पाँच कारोबार दिन उकालो लागेको शेयर बजारमा बुधबार करेक्सन देखिएको छ। पछिल्ला पाँच कारोबार दिनमा १६१ अंकभन्दा बढीले बढेको बजारमा नाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ) प्रवृत्ति हाबी हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा झरेको हो।
चैत ३ गतेदेखि सुरु भएको उकालो यात्रामा नेप्सेले पाँच दिनमै उल्लेख्य वृद्धि गरेको थियो। तीव्र वृद्धि पछि छोटो अवधिका लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि बजारमा स्वाभाविक करेक्सन आएको विश्लेषकहरूको भनाइ छ।
यद्यपि, बजार घट्दा पनि कारोबार रकम भने उच्च रह्यो। बुधबार १५ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच हुनु बजारप्रतिको चासो अझै बलियो रहेको संकेतका रूपमा हेरिएको छ। यसले लगानीकर्ताहरू पूर्ण रूपमा बाहिरिएका होइनन्, बरु रणनीतिक रूपमा पोर्टफोलियो व्यवस्थापन गरिरहेका छन् भन्ने देखाउँछ।
बुधबार नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.५४ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.४६ अंक र सेन्सेटिभ इन्डेक्स २.२६ अंक घटेको छ।
१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा ११ उपसमूह घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
बजार घटेपनि कारोबार रकम भने सामान्यभन्दा उच्च रहेको छ। बुधबार ३४५ स्टकमा १ लाख ३८ हजार २५६ पटकको कारोबार हुँदा कुल १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरका ३ करोड ५८ लाख १९ हजार कित्ता शेयर किनबेच भएका छन्।
यस दिन पाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किटमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर मूल्य सर्किट स्तरमा पुगेको छ।
पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने अन्य स्टकहरूको वृद्धि ४ प्रतिशतभन्दा कम रहेको छ। लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य यस दिन सर्वाधिक ७.७४ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। अपि पावर कम्पनीको कारोबार करिब ५२ करोड रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्ट्सको कारोबार साढे ४७ करोड रुपैयाँ नाघेको छ।
विश्लेषकहरूका अनुसार पछिल्लो उछालमा नयाँ सरकार गठनको तयारी, नीतिगत स्थिरताको अपेक्षा र समग्र लगानीकर्ता मनोबलमा आएको सुधार प्रमुख कारण थिए। तर छोटो समयमै ठूलो अंकको वृद्धि भएपछि बजारले ‘सास फेर्ने’ रूपमा करेक्सन लिनु स्वाभाविक प्रक्रिया मानिन्छ।
अहिलेको करेक्सनलाई दीर्घकालीन ट्रेन्ड परिवर्तनभन्दा पनि अल्पकालीन नाफा सुरक्षित गर्ने चरणका रूपमा बुझ्नुपर्ने जानकारहरू बताउँछन्। यदि नीतिगत स्पष्टता, आर्थिक सुधारका संकेत र तरलता स्थितिमा सुधार कायम रह्यो भने बजार पुनः उकालो लाग्ने सम्भावना रहेको उनीहरूको आकलन छ।
आर्थिकन्यूज