शीर्षकहरू

जीवन बीमा व्यवसाय १४.७३ प्रतिशले वृद्धि, ८ महिनामा सवा १ खर्ब बीमाशुल्क आर्जन

कुल बीमाशुल्कमा नेपाल लाइफको लगभग एक चौथाइ हिस्सा

जीवन बीमा व्यवसाय १४.७३ प्रतिशले वृद्धि, ८ महिनामा सवा १ खर्ब बीमाशुल्क आर्जन

काठमाडौँ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँभन्दा १४.७३ प्रतिशत बढी हो । जसले जीवन बीमा व्यवसायमा उल्लेखनीय वृद्धि देखाउँछ।

सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनीको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले गत वर्षको तुलनामा १२.१७ प्रतिशत वृद्धि गर्दै ३२ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले कुल प्रथम बीमाशुल्कको लगभग एक चौथाइ हिस्सा आर्जन गरेको छ, जबकि अन्य कम्पनीहरूको योगदान तुलनात्मक रुपमा कम छ ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जसले गत वर्षको तुलनामा १०.०८ प्रतिशतको वृद्धि देखाएको छ। तेस्रो स्थानमा एलआईसी नेपाल रहेको छ, जसले १३ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी ७.१६ प्रतिशतको वृद्धि हासिल गरेको छ।

यसपछि हिमालयन लाइफ ११ अर्ब ७१ करोड रुपैयाँको बीमाशुल्क आर्जन गर्दै चौथो स्थानमा देखिन्छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७४ करोड रुपैयाँ आर्जन गर्दै पाँचौं स्थान हासिल गरेको छ, तर बृद्धिदरको आधारमा यसले ९५.१९ प्रतिशतको उल्लेखनीय वृद्धि देखाएको छ।

सूर्यज्योति लाइफले ७ अर्ब ४३ करोड रुपैयाँ, एशियन लाइफले ६ अर्ब ३८ करोड रुपैयाँ र सिटिजन लाइफले ५ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। सानिमा रिलायन्स लाइफले ४ अर्ब ७६ करोड, आईएमई लाइफले ४ अर्ब २८ करोड र मेट लाइफले ४ अर्ब २५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी क्रमशः अगाडि छन्।

रिलायबल नेपाल लाइफले ३ अर्ब ९० करोड, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६६ करोड र सन नेपाल लाइफले २ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको तथ्यांकमा देखिन्छ।

नेपालको जीवन बीमा बजारमा नेपाल लाइफ र नेशनल लाइफ अग्रस्थानमा छन् भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफ जस्ता कम्पनीहरूको योगदान अपेक्षाकृत कम छ । तर बृद्धिदरको हिसाबले सरकारी कम्पनी र आईएमई लाइफले निजी कम्पनीसँग प्रतिस्पर्धात्मक सुधार देखाएका छन्, जसले बजारको समग्र विकास र प्रतिस्पर्धा बढाएको संकेत दिन्छ।

यो अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफले अपेक्षाकृत कम बीमाशुल्क आर्जन गरेका भए पनि निजी कम्पनीहरूको सक्रियता र प्रतिस्पर्धाले समग्र जीवन बीमा बजारमा वृद्धि र स्थिरता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। 

आठ महिनामा २८ अर्ब १४ करोड प्रथम बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा (साउनदेखि फागुन मसान्तसम्म) नेपालका १४ जीवन बीमा कम्पनीहरूले कुल २८ अर्ब १४ करोड ७६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ७ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स ४ अर्ब ४ करोड १६ लाख रुपैयाँसँग रहेछ। तेस्रोमा एलआईसी नेपाल रहेको छ, जसले २ अर्ब १५ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

यसपछि क्रमशः सूर्यज्योति लाइफ १ अर्ब ८९ करोड ६० लाख, सिटिजन लाइफ १ अर्ब ७० करोड ६८ लाख, एशियन लाइफ १ अर्ब ६० करोड १६ लाख, हिमालयन लाइफ १ अर्ब ५३ करोड ४६ लाख, आईएमई लाइफ १ अर्ब ४८ करोड ४४ लाख र रिलायबल नेपाल लाइफ १ अर्ब २८ करोड ८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्।

त्यसैगरी सानिमा रिलायन्स लाइफ १ अर्ब २५ करोड ९२ लाख, प्रभु महालक्ष्मी लाइफ १ अर्ब ५ करोड ६९ लाख, मेट लाइफ १ अर्ब १ करोड ५३ लाख, राष्ट्रिय जीवन बीमा कम्पनी (सरकारी) ९५ करोड ३५ लाख र सन नेपाल लाइफ ७३ करोड ३७ लाख रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

बीमा व्यवसायमा व्यापक वृद्धि र नयाँ लगानीकर्ताको आकर्षणले नेपाली बजारमा जीवन बीमा क्षेत्र अझ सुदृढ र दिगो हुने सम्भावना देखिएको छ। बजारमा निजी र सरकारी दुवै कम्पनीहरूको सक्रियता, उत्पादन विविधता र नयाँ योजनाहरूले आगामी वर्षहरूमा पनि वृद्धिदर निरन्तर रहनसक्ने देखिन्छ।

लघु जीवन बीमा कम्पनीले संकलन गरे ७२ करोड बीमा शुल्क 

नेपालमा सञ्चालित लघु जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७२ करोड ९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा तीन वटा लघु जीवन बीमा कम्पनी सक्रिय रहेका छन्।

सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको कम्पनी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स हो, जसले २५ करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले २५ करोड ६१ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले २० करोड ५९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्।

क्रेष्ट र गार्डियन माइक्रो लाइफले बजारको ठूलो हिस्सा ओगटेको छन् भने लिवर्टी माइक्रो लाइफले पनि उल्लेखनीय योगदान पु¥याएको छ। यो अवधिमा लघु जीवन बीमा बजारले स्थिर वृद्धि कायम राख्दै बीमा पहुँच विस्तारमा आफ्नो भूमिका जारी राखेको देखिन्छ।