भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मध्यपूर्वको अवस्था र ‘स्ट्रेट अफ हर्मुज’लाई खुला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ ।
दुई नेताबिचको कुराकानीपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन, “मध्यपूर्वको अवस्थाबारे म र अमेरिकी राष्ट्रपति ट्रम्पबीच ‘उपयोगी विचारहरूको आदानप्रदान’ भएको छ ।”
उनले लेखेका छन, “भारत तनाव कम गर्ने र शान्ति बहालीको पक्षमा छ । ‘स्ट्रेट अफ हर्मुज’ खुला, सुरक्षित र पहुँचयोग्य रहेको सुनिश्चित गर्नु सम्पूर्ण विश्वको लागि आवश्यक छ। शान्ति र स्थायित्वका लागि गरिने प्रयासमा सम्पर्कमा रहन हामी सहमत भएका छौँ ।”
यसअघि भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले दुई नेताबीच मङ्गलबार भएको टेलिफोन कुराकानीको पुष्टि गर्दै भनेका थिए, “दुई नेता (प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प) बिच मध्यपूर्वमा जारी अवस्था, ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्ने महत्त्वका बारेमा छलफल गरेका छन्।”
मोदीले २१ मार्चमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानसँग क्षेत्रीय घटनाक्रमबारे पनि कुरा गर्नुभएको थियो । उनले नौवहनको स्वतन्त्रताको रक्षा गर्ने र ढुवानी मार्गहरू खुला र सुरक्षित रहने सुनिश्चित गर्ने महत्त्वलाई दोहोर्याए ।
आर्थिकन्यूज