काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत ९ गतेदेखि पहिलो चरणअन्तर्गत उक्त समूहका लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको हो।
कम्पनीले यस चरणमा श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीका लागि ४ लाख २९ हजार कित्ता शेयर छुट्याएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल रहेको छ।
यसपछि कम्पनीले सर्वसाधारणका लागि ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्दैछ।
आईपीओ निष्काशनपछि सोपान फर्मास्युटिकल्स नेप्सेमा सूचीकृत हुने दोस्रो औषधि उत्पादक कम्पनी बन्नेछ।
स्वदेशमै गुणस्तरीय औषधि उत्पादन गरी आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले वि.सं. २०७४ मा पूर्वाधार निर्माण सुरु गरेको थियो। वि.सं. २०७८ मा परीक्षण उत्पादन सम्पन्न गरी २०७९ सालदेखि व्यावसायिक उत्पादन तथा बिक्री वितरण सुरु गरिएको हो।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा २१ रोपनी ९ आना क्षेत्रफलमा सञ्चालनमा रहेको उद्योगमा अत्याधुनिक प्रविधियुक्त उत्पादन संरचना रहेको छ। यहाँ नन–बेटा लाक्टम र सेफलोस्पोरिन ब्लकमार्फत ट्याब्लेट, क्याप्सुल, मल्हम, लिक्विड तथा ड्राइ सिरप उत्पादन हुँदै आएको छ।
कम्पनीका अनुसार एक सिफ्टमा सञ्चालन गर्दा वार्षिक ८४ करोड ट्याब्लेट, ९ करोड ६० लाख क्याप्सुल, ३ लाख लिटर लिक्विड, ३० लाख बोतल ड्राइ पाउडर र २४ लाख ट्युब मल्हम उत्पादन क्षमता रहेको छ। माग अनुसार उत्पादन क्षमता थप विस्तार गर्न सकिने अवस्था रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, उद्योग परिसरमा सञ्चालनमा रहेको अक्सिजन ग्यास प्लान्टबाट विभिन्न क्षमताका अक्सिजन सिलिन्डर तथा पोर्टेबल क्यान उत्पादन र वितरण भइरहेको छ। कम्पनीले हालसम्म १३६ औषधिको उत्पादन अनुमति र ९२ औषधिको बजार अनुमति प्राप्त गरिसकेको छ भने थप उत्पादन पाइपलाइनमा रहेका छन्।
आर्थिकन्यूज