शीर्षकहरू

कालिन्चोक हाइड्रोको आईपीओ चैत २२ देखि खुल्दै, सर्वसाधारणका लागि ६.८४ लाख कित्ता

कालिन्चोक हाइड्रोको आईपीओ चैत २२ देखि खुल्दै, सर्वसाधारणका लागि ६.८४ लाख कित्ता

काठमाडौं। कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ ल्याउन लागेको हो।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय बासिन्दा र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ।

अब कम्पनीले सामूहिक लगानी कोषका लागि ४१ हजार २५० कित्ता र कर्मचारीका लागि १६ हजार ५०० कित्ता सुरक्षित राखी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी हुने यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ छिटोमा चैत २५ गतेसम्म र ढिलोमा २०८३ वैशाख ६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष र डिस्काउण्टेड आधारमा १५.३६ वर्ष रहेको छ।