तनहुँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनामा तनहुँ जिल्लाको व्यास नगरपालिकामा “स्थानीय सरकारसँग बीमा” विषयक अन्तरक्रिया तथा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
चैत ११ गते नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा स्थानीय नगरवासी, उद्यमी, व्यापारी, किसान तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए भने विशेष अतिथिमा नगर उपप्रमुख इन्दिरा दरै र नगर प्रवक्ता सुरेश थापाको उपस्थिति रहेको थियो।
कार्यक्रम तीन चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी पोखरा च्याप्टरका अध्यक्ष छविलाल पौडेलले जीवन बीमाको आवश्यकता, महत्व र वर्तमान अवस्थाबारे जानकारी दिए।
दोस्रो चरणमा सोही संस्थाका कोषाध्यक्ष सुरेश रेग्मीले निर्जीवन बीमाअन्तर्गत सम्पत्ति, सवारी साधन तथा कृषि ९विशेषगरी सुन्तला खेती० सम्बन्धी बीमाका विषयमा प्रस्तुति दिए।
तेस्रो चरणमा प्रदेश प्रमुख मिश्रले बीमालाई जोखिम न्यूनीकरण तथा आर्थिक क्षतिको भरपर्दो सुरक्षा कवचका रूपमा उल्लेख गर्दै आर्थिक स्थायित्वका लागि बीमाको भूमिका महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा “हामी सम्पत्ति बीमा गर्छौं, तर आफ्नै जीवन बीमा किन नगर्नेरु” भन्ने प्रश्नले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो। प्रमुख अतिथि न्यौपानेले आगामी बजेटमा बीमा कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै विपद् व्यवस्थापनमा छुट्याइने बजेटलाई बीमामार्फत आर्थिक क्षति न्यूनीकरणमा प्रयोग गरिने बताउनुभयो। साथै, यस्ता कार्यक्रमहरू पालिकाका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे।
बीमा सचेतना अभिवृद्धि गर्दै स्थानीय तह र सरोकारवालाबीच सहकार्य बढाउने उद्देश्यका साथ आयोजित कार्यक्रमले सहभागीहरूमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज