शीर्षकहरू

प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै

प्रविधिमैत्री नेपाल बैंक : अधिकांश सेवा पाँच मिनेटभित्रै

रसुवा। सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।  यहाँस्थित  नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ ।

पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय लाग्ने भए पनि अहिले अधिकांश सेवा पाँच मिनेटभित्रै सम्पन्न हुन थालेको सेवाग्राही खड्गबहादुर बोगटी बताए । उनले भने, “बैङ्कको सेवा प्रविधिमैत्री हुँदा  सहज भएको छ । ”

जिल्लामा बैङ्कले धुन्चे शाखा र स्याफ्रुबेँसी इकाइबाट सेवा सञ्चालन भइरहेको छ । शाखा प्रबन्धक ल्हाक्पारिञ्जी शेर्पाका अनुसार दुबै कार्यालयमार्फत नियमित कारोबार गर्ने सेवाग्राही सङ्ख्या २०० भन्दा बढी पुगेको छ ।

जिल्लाको सदरमुकाम धुन्चेमा बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्न तथा उत्तरी भेगका नागरिकलाई स्थानीय स्तरमै बैङ्किङ पहुँच उपलब्ध गराउने उद्देश्यले स्याफ्रुबेँसी इकाइ स्थापना गरिएको हो। यस इकाइबाट ठूलोस्याफ्रु, खाम्जिङ, पेल्गो, बृद्धिम, थुमन, गोल्जुङ, गतलाङलगायतका गाउँका स्थानीयले निरन्तर बैङ्किङ सेवा लिँदै आएका छन् ।

 बैङ्किङ कारोबार पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण भएपछि सेवा प्रवाह छिटो, पारदर्शी र सुरक्षित बनेको बैङ्कका खजान्ची प्रकाश ढकालले जानकारी दिए । जिल्लामा मात्रै नियमित बैङ्किङ सेवा प्रयोग गर्ने सेवाग्राही सङ्ख्या सात हजारभन्दा बढी पुगेको छ ।

चौबिसै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘एटिएम’ सेवा सञ्चालनमा ल्याइएको छ भने नोटकोषसमेत सञ्चालन गरिरहेको छ । जिल्लामा सञ्चालनमा रहेका दर्जनौँ (क) वर्गका बैङ्कहरूसँग अन्तरबैङ्क कारोबारसमेत सहज रूपमा हुँदै आएको छ ।

शाखाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ५२४ भन्दा बढी खाता सञ्चालनमा ल्याएको जनाएको छ ।  त्यसैगरी, सुनचाँदी व्यवसायी, कृषि क्षेत्र, व्यक्तिगत तथा संस्थागत जमानीमा विभिन्न प्रकारका कर्जा सेवा प्रदान गर्दै आएको छ ।

सुनचाँदी धितो कर्जा आजको आजै र अन्य धितो राखी ऋण प्रवाहको हकमा धितो सुरक्षाको व्यवस्था मिलाएर ऋण प्रवाह गरिने गरिएको बैङ्कले जनाएको छ ।

रसुवामा पेन्सन बुझ्ने  सेवाग्राहीको सङ्ख्या करिब ६० रहेको छ भने सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका सबै प्रकारका भुक्तानी र जम्मा प्रक्रियाको सेवा पनि यही बैङ्कमार्फत हुँदै आएको छ। विसं १९९४ मा स्थापना भएको नेपाल बैङ्क लिमिटेड नेपालको जेठो बैङ्कका रूपमा परिचित छ । रसुवामा भने यसको शाखा विसं २०३३ मा स्थापना भएको थियो । जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन बैङ्कले महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरू बताउँछन् ।

बैङ्कमा सुरक्षा गार्डदेखि शाखा प्रमुखसम्म गरी १५ जना कर्मचारी कार्यरत छन् । सेवाग्राही नेमबहादुर तामाङका अनुसार कर्मचारीहरू लगनशील, मिहेनती र सेवाग्राहीप्रति नरम व्यवहार तथा मानव अधिकारको पूर्ण सम्मानका साथ काम सम्पादन भएको पाइएकाले बैङ्कप्रतिको विश्वास अझ बलियो बनेको छ ।

ग्रामीण अर्थतन्त्र चलायमान 

पहाडी जिल्ला रसुवामा बैङ्किङ पहुँच विस्तारसँगै व्यापार, कृषि, सामाजिक सुरक्षा वितरण तथा सरकारी सेवा प्रवाहमा उल्लेखनीय सहजता आएको छ । परम्परागत बैङ्किङबाट डिजिटल बैङ्किङतर्फको यात्रा पूरा गर्दै सो बैङ्कले अहिले ‘छिटो सेवा, सुरक्षित कारोबार र विश्वसनीय संस्था’ को पहिचान स्थापित गरिरहेको छ ।