काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक वृद्धि भए पनि कारोबार रकम घटेको छ। अघिल्लो दिन घटेको बजार बिहीबार भने १४.२१ अंकले उकालो लाग्दै २९५०.१६ विन्दुमा बन्द भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स १.९८ अंकले बढ्दा फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले सुधार देखाएका छन्। यद्यपि, बजारमा रकमको प्रवाह भने केही सुस्तिएको छ। बुधबार १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा बिहीबार १३ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको छ।
३४३ कम्पनीका १ लाख ४२ हजारभन्दा बढी कारोबारमार्फत ३ करोड ४ लाख कित्ता शेयर किनबेच भएको छ। बजार बढे पनि कारोबार रकम घट्नुले लगानीकर्तामा अझै सतर्कता कायम रहेको संकेत गर्छ।
सर्किट लाग्ने शेयरमा हाइड्रो र उत्पादन क्षेत्र हाबी
बिहीबार ५ कम्पनीका शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगे। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले उच्च कमाइ गरे।
यसैगरी नेशनल हाइड्रोपावर र रिडी पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा बढीले उकालो लाग्दा शुभम् पावर करिब ६ प्रतिशतले बढ्यो। विपरीत दिशामा पञ्चकन्या माइ हाइड्रोपावर सबैभन्दा बढी ७.४८ प्रतिशतले घट्यो।
कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर अगाडि
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो, जसको करिब ९४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो। एसवाई प्यानल नेपालमा झण्डै ७२ करोड रुपैयाँ र नेशनल हाइड्रोपावरमा ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
जलविद्युत् उपसमूहको अग्रता
१३ उपसमूहमध्ये ९ उपसमूह उकालो लागेका छन्। जलविद्युत् उपसमूह १.५६ प्रतिशतले बढ्दै अग्रस्थानमा रहँदा उत्पादन तथा प्रशोधन समूह पनि करिब १.५ प्रतिशतले उकालो लाग्यो।
विपरीत, व्यापार उपसमूह २.८४ प्रतिशतले घट्दै सबैभन्दा कमजोर देखियो। म्युचुअल फण्ड उपसमूह भने स्थिर रह्यो।
समग्रमा बजार उकालो लागे पनि कारोबार रकम घट्नुले लगानीकर्ताको ‘पर्ख र हेर’ रणनीति अझै कायम रहेको देखिएको छ।
आर्थिकन्यूज