शीर्षकहरू

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवा औपचारिक शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ माइलस्टोन

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवा औपचारिक शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ माइलस्टोन

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मास्टरकार्ड सेवा औपचारिक रूपमा शुभारम्भ गर्दै डिजिटल बैंकिङ सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ।

काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि तत्कालै डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरिएको जानकारी गराएको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य दिँदै बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाको क्षेत्रमा कुमारी बैंकले हासिल गरेको प्रगतिबारे जानकारी गराए ।  उनले मास्टरकार्डजस्ता विश्वव्यापी भुक्तानी प्रणालीको समावेशले बैंकको सेवा क्षमता अझ विस्तार हुने विश्वास व्यक्त गरे।

सोही कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले मास्टरकार्डको महत्व, यसको प्रयोगका सम्भावना तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी दिए।

उनका अनुसार, डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमबाट सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सकिनेछ। साथै, उक्त कार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएस मेसिनमा प्रयोग गर्न सकिनेछ।

बैंकले निकट भविष्यमा मास्टरकार्डमार्फत क्रेडिट कार्ड सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। यससँगै अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई थप सहज बनाउने लक्ष्य लिइएको छ।