शीर्षकहरू

विराटनगरमा निर्माण मेला : चौमासिक खर्च प्रणालीमार्फत पूँजीगत खर्च बढाउने मुख्यमन्त्री कार्की

विराटनगरमा निर्माण मेला : चौमासिक खर्च प्रणालीमार्फत पूँजीगत खर्च बढाउने मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्षदेखि गुणस्तरीय निर्माणलाई प्राथमिकतामा राख्दै पूँजीगत खर्च वृद्धि गर्न प्रत्येक चौमासिकमा खर्च निर्धारण गरी कार्यान्वयनमा जाने बताएका छन् ।

प्रदेशको बजेट खर्च वृद्धि गरेर अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य रहेको उल्लेख गर्दै उनले विगत वर्षहरूको तुलनामा प्रदेश संरचनाले वित्तीय प्रगतिमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । यस वर्ष पनि सो उपलब्धिलाई निरन्तरता दिने उनको भनाइ छ ।

विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको घर निर्माणसम्बन्धी प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले घर निर्माणजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषयमा मेला आयोजना गर्नु सकारात्मक कदम भएको बताए ।

उनले भूकम्प प्रतिरोधात्मक, आगलागीबाट कम क्षति हुने, हावाहुरी तथा चट्याङबाट सुरक्षित घर निर्माणबारे जनचेतना अभिवृद्धि गर्न संगठनलाई सुझाव दिएका छन् ।

मुख्यमन्त्री कार्कीले विराटनगरमा पायक पर्ने स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराइएमा आगामी दुई वर्षभित्र आधुनिक तथा सुविधासम्पन्न प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। विराटनगरमा हुने प्रदर्शनी अन्य स्थानको तुलनामा स्तरीय हुने भएकाले यसबाट सर्वसाधारण तथा निर्माण व्यवसायी दुवैलाई लाभ पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा नन्दकिशोर राठी, भोलेश्वर दुलाल, सुरेन्द्र गोल्छा तथा अनुपम राठी लगायतले प्रदर्शनीले निर्माण उद्योगलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा राखेका थिए ।

प्रदर्शनीको मुख्य उद्देश्य नेपाली निर्माण सामग्री तथा सेवाको प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापनमार्फत निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु रहेको आयोजकले जनाएको छ ।

अध्यक्ष राठीका अनुसार प्रदर्शनीमा घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी, प्राविधिक जनशक्ति तथा आवश्यक सामग्री एउटै स्थानबाट उपलब्ध हुनेछन् । यस क्षेत्रमै पहिलोपटक आयोजना गरिएको उक्त प्रदर्शनीमा ७५ वटा स्टल रहेका छन् ।

प्रदर्शनीमा डिजाइन तथा प्लानिङ अन्तर्गत वास्तुकला, संरचनात्मक इञ्जिनियरिङ र वास्तु परामर्श सेवा, निर्माण सामग्री अन्तर्गत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ तथा इन्सुलेसन, स्यानिटरी तथा प्लम्बिङ अन्तर्गत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली, साथै विद्युत तथा ऊर्जा अन्तर्गत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्डप्रुफिङ तथा सुरक्षा सामग्रीहरू प्रदर्शन गरिएका छन् ।