शीर्षकहरू

हर्मुज तनाव चुलिँदै: वार्तामा ‘गम्भीर’ हुन ट्रम्पको इरानलाई चेतावनी

हर्मुज तनाव चुलिँदै: वार्तामा ‘गम्भीर’ हुन ट्रम्पको इरानलाई चेतावनी

काठमाडौं। डोनाल्ड ट्रम्प ले मध्यपूर्वमा बढ्दो तनावबीच इरानलाई युद्ध अन्त्यका लागि वार्तामा गम्भीर रूपमा संलग्न हुन आग्रह गरेका छन्। बिहीबार उनले ढिलाइ नगरी कूटनीतिक समाधानतर्फ अघि बढ्न इरानलाई चेतावनी दिएका हुन्।

इजरायलले इरानी रिभोलुसनरी गार्ड्सका एक नौसैनिक कमान्डरलाई मारेपछि सुरु भएको तनावका क्रममा ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग अवरुद्ध भएको बताइएको छ। यस अवस्थाका लागि इरानले अमेरिका र इजरायललाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गरेको छ। विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने यस जलमार्ग अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा ठूलो आर्थिक प्रभाव पर्ने चिन्ता बढेको छ।

अमेरिकाले इरानसमक्ष शान्ति योजना प्रस्ताव गरेको जनाइए पनि तेहरानले त्यसमा सहमति जनाएको छैन। यद्यपि, पाकिस्तानमार्फत अमेरिका–इरानबीच अप्रत्यक्ष वार्ता भइरहेको संकेत देखिएको छ।

पाकिस्तानका विदेशमन्त्री इशाक दार ले इस्लामाबादले मध्यस्थताको भूमिका खेलेको र इरानले अमेरिकी प्रस्तावमाथि छलफल गरिरहेको बताएका छन्। उनका अनुसार टर्की, इजिप्ट लगायतका ‘भाइचारा राष्ट्रहरू’ पनि वार्ता प्रक्रियामा सहयोगी छन्।

यसैबीच, ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानको सैन्य संरचना कमजोर बनाइएको दाबी गर्दै थप कडा कदम चाल्न सकिने संकेत दिएका छन्।

तर अब्बास अराघची ले भने अमेरिकी प्रशासनसँग प्रत्यक्ष वार्ता भएको अस्वीकार गरेका छन्। उनले मित्र राष्ट्रमार्फत सन्देश आदानप्रदान भइरहेको स्वीकार गर्दै इरानको वर्तमान नीति ‘प्रतिरोधलाई निरन्तरता दिने’ रहेको बताएका छन्।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला कूटनीतिक प्रयास तीव्र भए पनि दुवै पक्षबीच सहमति बन्ने संकेत अझै स्पष्ट भइसकेको छैन।