शीर्षकहरू

‘कर्मचारी देशको सम्पत्ति’ भन्दै उद्योग मन्त्री अनिलकुमार सिन्हाको भावुक बिदाइ

‘कर्मचारी देशको सम्पत्ति’ भन्दै उद्योग मन्त्री अनिलकुमार सिन्हाको भावुक बिदाइ

काठमाडौं ।  उद्योग मन्त्री अनिलकुमार सिन्हाले आफ्नो कार्यकालको अन्त्यमा आयोजित बिदाइ कार्यक्रममा कर्मचारीहरूलाई ‘देशको सम्पत्ति’को संज्ञा दिँदै उनीहरूको भूमिकाको खुलेर प्रशंसा गरेका छन्।

सिन्हाले राज्य सञ्चालन र विकास प्रक्रियामा कर्मचारीहरूको भूमिका केन्द्रीय हुने उल्लेख गर्दै राजनीतिक नेतृत्वले उनीहरूलाई सही दिशा र उद्देश्यका साथ परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सामूहिक प्रयासकै परिणाम भएको स्पष्ट पारे।

“मन्त्रालयमा भएका काम मेरो एक्लो प्रयासले सम्भव थिएन, यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूको साथ र सहयोगकै कारण सम्भव भयो,” मन्त्री सिन्हाले भने, “त्यसैले कर्मचारी नै सरकारको वास्तविक श्रेय हुन्।”

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मन्त्री सिन्हाको १०५ दिनको कार्यकालको विस्तृत समीक्षा प्रस्तुत गर्दै नीतिगत स्पष्टता र कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको बताए।

सिन्हाले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकासँग काम गर्ने अवसर पाएको अनुभवलाई आफ्नो सार्वजनिक जीवनको महत्वपूर्ण सिकाइका रूपमा प्रस्तुत गरे। उनले भाद्र २३–२४ को आन्दोलनमा सहादत प्राप्त शहीदहरूको सम्मानमा आमनिर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गरिएको उल्लेख गर्दै अब Gen-Z आन्दोलनको मर्म अनुरूप सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको अन्त्यतिर मन्त्री सिन्हा भावुक बने। उनले सचिवदेखि सम्पूर्ण कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कार्यकालभर प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरे। उपस्थित कर्मचारीहरूले पनि उनको कार्यशैलीको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।