काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्।
संघर्षबाट मन्त्रीसम्म: गीता चौधरीको उकासिएको यात्रा
शुक्लाफाँटा नगरपालिका–४ असैनाकी ३३ वर्षीया गीता चौधरी सामान्य पारिवारिक पृष्ठभूमिबाट अघि बढेकी चौधरी मन्त्री बनेपछि परिवारमा खुसी छाएको छ।
“छोरी मन्त्री बनेको खबरले परिवारमा खुसी छाएको छ,” उनका बुवा जयराम डगौंराले भने, “देशका जनतालाई नै खुसी बनाउने गरी उनले जिम्मेवारी सम्हाल्न सकून्।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै संघीय सरकारमा मन्त्री बनेकी चौधरी कञ्चनपुरबाट थारु समुदायकी पहिलो महिला मन्त्री बनेकी हुन्।
शुक्लाफाँटा–३ स्थित जनज्योति आधारभूत विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेकी उनले राष्ट्रिय मावि पिपलाडीबाट माध्यमिक तह पूरा गरिन्। झलारीस्थित श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेपछि उनले काठमाडौँ स्कुल अफ लबाट स्नातक र नेपाल ल क्याम्पसबाट स्नातकोत्तर पूरा गरेकी छन्। उनी पेशाले कानुन व्यवसायी हुन्।
सात दिदीबहिनी र एक भाइमध्ये माहिली सन्तान चौधरी सानैदेखि पढाइमा रुचि राख्ने र समाजका विभेद तथा कुरीतिविरुद्ध आवाज उठाउने स्वभावकी रहेको उनका बुवाको भनाइ छ। “सामान्य आयस्रोतमा छोराछोरी पढाउन निकै संघर्ष गर्नुपर्यो,” उनले भने, “खेतीपाती र सटरिङको काम गरेर घर खर्च चलाउँदै पढाइ अघि बढायौँ, त्यसैको परिणाम आज देखिएको छ।”
उनका फूपाजु डम्बर चौधरीका अनुसार गीता अध्ययनप्रति दृढ थिइन्। “ऋण गरेर भए पनि पढाइ नछोड्ने बानी थियो,” उनले भने, “विवाहपछि पनि अध्ययनसँगै राजनीति अघि बढाइन्।”
बुटवलको सैनामैना निवासी सुनिल चौधरीसँग विवाह गरेकी गीताका एक छोरी छन्। उनका श्रीमान् कृषि क्याम्पसमा अध्यापन गर्छन्। सामाजिक गतिविधिमा सक्रिय चौधरी विभिन्न क्लब तथा संस्थामा आबद्ध हुनुका साथै कराते खेलाडीसमेत हुन्।
राजनीतिक यात्रा भने उनले नागरिक उन्मुक्ति पार्टीबाट सुरु गरेकी थिइन्। २०७९ को प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर सम्मानजनक मत ल्याएकी उनले पछि रास्वपामा प्रवेश गरेकी हुन्। पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेपछि उनी अहिले संघीय सरकारको मन्त्री पदसम्म पुगेकी छन्।
साधारण जीवनबाट सुरु भएको उनको यात्रा अहिले राज्यको उच्च जिम्मेवारीसम्म आइपुगेको छ, जसले उनको संघर्षलाई झन् अर्थपूर्ण बनाएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया