काठमाडौँ। शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य समस्या देखिएको कारण अदालतमा प्रत्यक्ष उपस्थित नहुने भएका छन्।
ओलीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट उपस्थित गराउने तयारी भएको छ। उनी हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना छन्। चिकित्सकका अनुसार मुटुको चाल अनियमित भएपछि उनलाई अस्पतालमै राख्नुपर्ने सिफारिस गरिएको थियो।
अर्कोतर्फ, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई भने म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट अदालतमा प्रत्यक्ष उपस्थित गराइएको छ।
ओली र लेखक दुवैमाथि भदौ २३ मा भएको जेनजी आन्दोलन दमन प्रकरणको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी मुद्दा लागेको छ। यो मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा छ।
अदालतमा सुरक्षा व्यवस्थित गर्न काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर आसपास ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
शुक्रबार मन्त्रिपरिषद्ले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो, जसको आधारमा शनिबार ओली र लेखक दुवै पक्राउ परेका हुन्।
आर्थिकन्यूज
प्रतिक्रिया