काठमाडौँ । नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरी स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतको विस्तृत छानबिन अघि बढाइएको छ। यस क्रममा पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान भइरहेको छ।
सो अनुसन्धानकै क्रममा आइतबार बिहान पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा खड्कालाई नियन्त्रणमा लिएको र आजै जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धानमा देखिएका समस्याका कारण तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको थियो।
यसैबीच २४ भदौमा भएको आगजनी घटनाका क्रममा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा भेटिएका थिए। त्यसपछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो।
आर्थिकन्यूज
प्रतिक्रिया