काठमाडौँ। निजी क्षेत्रको अग्रणी हिमालयन बैंक लिमिटेडको वित्तीय अवस्था कमजोर बन्दै जाँदा रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले बैंकलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ। बैंकको ‘इशूयर रेटिङ’ र जारी ऋणपत्र दुवैमा यस्तो अवस्था देखिएको हो।
केयर रेटिङ्सले बैंकको रेटिङ ‘केयर–एनपी ट्रिपल बी (CARE-NP BBB)’ कायम राख्दै लगानी जोखिम मध्यम स्तरको रहेको जनाएको छ। तर पछिल्ला वित्तीय सूचकहरूमा आएको गिरावटले आगामी दिनमा थप जोखिम बढ्न सक्ने संकेत गरेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढ्दै जानु र ब्याज मार्जिन घट्नुले नाफामा दबाब परेको विश्लेषणमा उल्लेख छ। त्यस्तै, निक्षेपको लागत बढ्दै जाँदा संकलित रकमको ठूलो हिस्सा कम प्रतिफल दिने सरकारी ऋणपत्र तथा राष्ट्र बैंकका उपकरणमा लगानी हुँदा ब्याज आम्दानी घटेको छ।
आन्तरिक रूपमा व्यवस्थापन र सञ्चालक समितिभित्र देखिएको विवादले पनि कार्यसम्पादन प्रभावित भएको रेटिङ एजेन्सीले जनाएको छ। साथै, गैर-बैंकिङ सम्पत्तिको व्यवस्थापन र सम्भावित जोखिमका लागि गर्नुपर्ने प्रावधानले आन्तरिक पूँजी निर्माणमा असर परेको छ।
बैंकले जारी गरेको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड बन्ड २०८३’ लाई पनि सोही ‘ट्रिपल बी’ रेटिङसहित नकारात्मक वाचमा राखिएको छ। यसले उक्त ऋणपत्रमा लगानी गर्नेहरूको जोखिम मध्यम रहेको तर भविष्यमा चुनौती बढ्न सक्ने देखाउँछ।
सन् १९९२ देखि सञ्चालनमा रहेको बैंकमा लामो समय साझेदार रहेको पाकिस्तानको हबीब बैंक सन् २०२५ नोभेम्बरमा बाहिरिएको थियो। हाल बैंकको नेतृत्व प्रमुख कार्यकारी अधिकृत अशोक राणा र अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गरिरहेका छन्।
तीन दशकभन्दा लामो इतिहास र विविध ऋण पोर्टफोलियो हुँदाहुँदै पनि पछिल्ला सूचकहरू कमजोर बन्दै जानु बैंकका लागि चिन्ताको विषय बनेको छ।
आर्थिकन्यूज
प्रतिक्रिया