काठमाडौँ। नयाँ सरकार गठनपछि खुलेको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछिको पहिलो शेयर कारोबारमा पहिरो गएको छ ।
आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १२.९६ अंक, फ्लोट इण्डेक्स ५.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६० अंकले ओरालो लागेको छ।
नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिए पनि पहिलो दिनको कारोबारमा त्यसको विपरीत असर देखिएको हो। दुई तिहाइ नजिकको बहुमतसहित सरकार बनेपछि राजनीतिक स्थिरताको आशामा बजारमा उछाल आउन सक्ने अनुमान गरिएको थियो।
विश्लेषकहरुका अनुसार लगातार वृद्धि भएपछि बजारमा केही समय नाफा बुकिङ हुनु स्वाभाविक प्रक्रिया हो। यस्तो अवस्थामा सूचक केही घटे पनि बजारमा लगानीकर्ताको रुचि कायम रहँदा कारोबार रकम उच्च रहेको छ ।
बजारमा सेयर बिक्री गर्नेको चापका कारण १३ वटै उपसमूहले नेप्से घटाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.३८ प्रतिशतले ओरालो लागेको छ । ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १५ अर्ब ३ करोड रुपैयाँ नाघेको छ ।अघिल्लो कारोबार दिन १३ अर्ब १६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
बजारका जानकारहरुका अनुसार पछिल्लो समय बजारमा आएको तीव्र वृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गर्ने (प्रफिट बुकिङ) प्रवृत्ति बढ्दा बजारमा दबाब देखिएको हो। उच्च कारोबार रकमले भने बजारमा बिक्री चापसँगै सक्रियता पनि उच्च रहेको संकेत गरेको छ।
ब्रोकरहरुका अनुसार हालको गिरावटमा नाफा बुक गर्ने प्रवृत्ति मुख्य कारण देखिएको छ । गत साता मात्रै नेप्से ७३ अंकले बढेको थियो भने पछिल्लो एक महिनामा बजार २७७ अंकले उकालो लागेको थियो।‘बजार बढेपछि लगानीकर्ताले बिक्री गर्ने अवसर खोजिरहेका हुन्छन्, नयाँ सरकार गठनजस्तो अवसरमा त्यस्तो बिक्री दबाब बढ्नु स्वाभाविक हो,’ एक ब्रोकर सञ्चालकले बताए।
त्यसैगरी, पछिल्ला राजनीतिक घटनाक्रम र पक्राउ कारबाहीका कारण बजार मनोविज्ञानमा समेत केही नकारात्मक प्रभाव परेको जानकारहरू बताउँछन्।
नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन भएको छ। एमालेका जनवर्गीय संगठनहरूले माइतीघर क्षेत्रमा भेला भई सरकारविरुद्ध नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीहरूले ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहा गर्न माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा समेत माग गरेका छन्। आन्दोलनले अस्थिरता निम्त्याउने भय बढ्दा लगानीकर्ताको मनोबल खस्किएको हो ।
यस दिन आधा दर्जन स्टक सकारात्मक सर्किटले भरी कारोबार भएका छन्। रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किटमा पुगेको छ। सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। युनिक नेपाल लघुवित्तको शेयर मूल्य भने ६.१७ प्रतिशत घटेको छ।
कारोबार रकमको आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ, जसको शेयर ७१ करोड ११ लाख रुपैयाँबराबर कारोबार भएको छ। ङादी ग्रुप पावर र सोलु हाइड्रोपावर क्रमशः ५२ करोड र ४८ करोडभन्दा बढीको कारोबारमा रहेका छन्।
नेप्सेमा आएको गिरावट बजारमा उच्च मूल्यमा रहेको सेयर बेच्न लगानीकर्ताको प्रवृत्ति र नयाँ सरकार गठनसँगैको राजनीतिक र आर्थिक अनिश्चिततासँग जोडिएको देखिन्छ।
आर्थिकन्यूज
प्रतिक्रिया