शीर्षकहरू

ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

ओली र लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले आइतबार दुवैलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। जिल्ला सरकारी वकिल कार्यालयले प्रारम्भमा १० दिन हिरासतको माग गरेको थियो।

ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियो। पक्राउ जेनजी आन्दोलनमा भएको दमनको घटनासँग सम्बन्धित छ। आयोगले फौजदारी मुद्दामा कारबाही सिफारिस गरेपछि मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई अनुमति दिएको थियो।

जाँचबुझ आयोगले तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरू सहित ओली र लेखकमाथि अनुसन्धान सिफारिस गरेको छ। आयोगको प्रतिवेदन अनुसार प्रहरीले उनीहरूलाई ‘ज्यान सम्बन्धी कसुर’ सहित अनुसन्धान गरिरहेको छ। आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले कार्यान्वयनका लागि प्रहरीमा पठाएको हो।

अदालतमा उपस्थित हुन लेखकलाई आइतबार बिहान बोलाइएको थियो भने ओली स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कारण भर्चुअल रूपमा उपस्थित भएका थिए।

जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो।

यसैबीच ओली पक्राउको विरोधमा एमालेले शनिबारदेखि आफ्ना कार्यकर्तालाई सडकमा उतारेर प्रदर्शन गरिरहेको छ।

 

 

प्रतिक्रिया