काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सँग अर्थ मन्त्रालयमा भेट गरी समसामयिक आर्थिक मुद्दाहरूमा छलफल गरेको छ।
भेटका क्रममा महासंघले सरकारले दोस्रो चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोगले पेश गरेका सुझावहरू कार्यान्वयन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ।
अध्यक्ष ढकालले निजी क्षेत्रका धेरै मागहरू सम्बोधन गर्दै सुधारका काम अघि बढाएकोमा सरकारले स्वागत पाएको बताउँदै, आगामी नीति तथा बजेट निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए। उनले आन्तरिक तथा बाह्य पूँजी परिचालन गरी देशको आर्थिक विकास र समृद्धि हासिल गर्नुपर्ने धारणा राख्दै महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना भई काम भइरहेको जानकारी पनि दिए।
जवाफमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका सुझावहरूलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै संरचनागत सुधार, नीतिगत स्पष्टता र कार्यान्वयन प्रभावकारिता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको धारणा राखे। उनले पदभार ग्रहण गरेसँगै १५ वटा कानुन खारेजी प्रक्रियामा लैजाने निर्णय गरेको र १०० दिने कार्यसूचीमा सुशासन तथा नागरिक सेवालाई सरल र सहज बनाउने कार्यक्रम ल्याएको जानकारी दिए।
साथै, एलडीसी ग्रयाजुयसनको समयसीमा सार्न पहल गर्ने सरकारको सकारात्मक दृष्टिकोण रहेको भए पनि आन्तरिक तयारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेले बताए। उनले आउने नीति तथा बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई स्पष्ट देखिने गरी अघि बढाइने पनि बताए।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले राजनीतिक र नीतिगत स्थायित्वको अपेक्षा राख्दै राजस्व न्यायाधिकरण जस्ता संस्थाको पुनर्संरचना आवश्यक रहेको धारणा राखे। वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले वैदेशिक नीति तर्जुमा गर्दा देशको अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
त्यसैगरी उपाध्यक्ष हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, तथा कोषाध्यक्ष भरतराज आचार्यले मध्यपूर्वको संकटले उद्योग व्यवसायमा पार्न सक्ने प्रभावबारे आवश्यक पहल गर्न आग्रह गर्दै साना तथा मझौला उद्योगको संरक्षण, सहजीकरण र पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउन सरकारसँग अनुरोध गरे।
आर्थिकन्यूज
प्रतिक्रिया