शीर्षकहरू

सन नेपाल लाइफका सीईओ अर्याल पक्राउ, सेयर बाँडफाँटमा किर्ते र ठगीको आरोप

सन नेपाल लाइफका सीईओ अर्याल पक्राउ, सेयर बाँडफाँटमा किर्ते र ठगीको आरोप

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सेयरसम्बन्धी किर्ते तथा ठगीको आरोपमा नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार कम्पनीले कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी विवरण नियामक निकायमा पेश गर्दा फरक–फरक तथ्यांक दिएको पाइएको छ। प्रारम्भिक अनुसन्धानमा आवेदन फाराम तथा सम्बन्धित कागजातहरूमा समेत असमानता देखिएको जनाइएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेको प्रारम्भिक अध्ययनपछि उक्त प्रतिवेदन सीआईबीमा पठाइएको थियो। प्रतिवेदनमा कर्मचारीको सेयर बाँडफाँटमा झुठा विवरण तयार गरी अर्यालले आफूलाई बढी सेयर राखेको आशंका गरिएको छ।

प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीत कार्य भएको देखिएकाले अनुसन्धान अघि बढाइएको हो। ५१ वर्षीय अर्याललाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई पुतलीसडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया