काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले चैत २६ गतेदेखि दोस्रो चरणमा ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सो क्रममा ४ लाख ७० हजार कित्ता स्थानीयका लागि र ९४ हजार कित्ता विदेशमा कार्यरत नेपालीहरूका लागि छुट्याइएको थियो। यस्तै, सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कर्मचारीका लागि १८ हजार ८०० कित्ता शेयर पनि बाँडफाँट भइसकेको छ।
कम्पनीले कुल जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो।
सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ भने पूर्ण आवेदन नपरेमा ढिलोमा २०८३ बैशाख १० गतेसम्म निष्काशन खुला रहनेछ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुट दरमा १६.४३ वर्ष रहेको कम्पनीले जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली वा मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आर्थिकन्यूज
प्रतिक्रिया