शीर्षकहरू

राष्ट्र बैंकको प्रतिवेदन : अर्थतन्त्र पुनरुत्थानमा तर जोखिम कायमै

चालु आर्थिक वर्षमा मुद्रास्फीति र आर्थिक वृद्धिदर दुबै करिब ४ प्रतिशत रहने अनुमान

राष्ट्र बैंकको प्रतिवेदन :  अर्थतन्त्र पुनरुत्थानमा तर जोखिम कायमै

काठमाडौँ। नेपाल राष्ट्र बैंक (एनआरबी) ले नेपालको बाह्य क्षेत्र हाल सुदृढ देखिए पनि दीर्घकालीन रुपमा दिगो नभएको औंल्याएको छ । भुक्तानी सन्तुलन अधिशेषमा रहे पनि त्यसको प्रमुख आधार विप्रेषण भएकाले बाह्य जोखिम बढ्दो रहेको निष्कर्ष निकालिएको छ ।

राष्ट्र बैंकले पहिलो पटक अर्धवार्षिक रुपमा विस्तृत समष्टिगत (म्याक्रोइकोनोमिक) प्रतिवेदन सार्वजनिक गर्दै नेपालको बाह्य क्षेत्रका सूचकहरू सुधारोन्मुख देखिएको बताएको छ । विदेशी मुद्रा सञ्चिति बढेको छ भने भुक्तानी सन्तुलन अधिशेषमा रहेको छ । तर, यो सुधार दिगो नभएको केन्द्रीय बैंकको मूल्यांकन छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा मुद्रास्फीति र आर्थिक वृद्धिदर दुबै करिब ४ प्रतिशत रहने अनुमान गरिएको छ । जुन सरकारी लक्ष्यभन्दा न्यून हो। बाह्य क्षेत्र स्थिर रहने र बजारमा तरलता उच्च रहने प्रक्षेपण गरिएको छ। यद्यपि, बढ्दो भूराजनीतिक तनाव, व्यापारसम्बन्धी अनिश्चितता तथा आन्तरिक राजनीतिक संक्रमणले आगामी दिनमा अर्थतन्त्रमा दबाब पर्न सक्ने जोखिम एनआरबीले औंल्याएको छ।

प्रतिवेदनले भुक्तानी सन्तुलनमा देखिएको अधिशेष मुख्यतः विप्रेषण आम्दानीका कारण सम्भव भएको उल्लेख गरेको छ । विप्रेषणमा अत्यधिक निर्भरता रहँदा बाह्य आर्थिक झट्काप्रति संवेदनशील रहने खतरा औंल्याइएको छ।

त्यस्तै, निर्यात क्षेत्रको संरचना अझै कमजोर रहेको र सीमित वस्तुमा निर्भर रहेको जनाइएको छ। विशेषगरी प्रशोधित खाने तेलजस्ता केही वस्तुमा केन्द्रित निर्यातले दीर्घकालीन स्थायित्वमा चुनौती थपेको प्रतिवेदनमा उल्लेख छ।

एनआरबीले विदेशी मुद्रा सञ्चिति वृद्धि सकारात्मक संकेत भए पनि निर्यात विविधीकरण र उत्पादनमूलक क्षेत्रको विस्तार नगरेसम्म बाह्य क्षेत्र दिगो नहुने चेतावनी दिएको छ।

अर्थतन्त्र सुधारतर्फ, तर असमान गति

प्रतिवेदनले नेपालको अर्थतन्त्र क्रमशः सुधारोन्मुख देखिए पनि क्षेत्रगत रूपमा समान प्रगति नभएको औंल्याएको छ। आर्थिक वृद्धिदर मध्यम स्तरमै रहेको, मुद्रास्फीति नियन्त्रणमा रहेको र ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जा विस्तार सुस्त रहेको उल्लेख छ।

बैंक तथा वित्तीय संस्थामा तरलता प्रशस्त भए पनि गैरबैंकिङ सम्पत्ति र खराब कर्जा बढ्दा दबाब देखिएको छ। पछिल्लो समय भने खराब कर्जामा स्थिरता आएको र सुधारका संकेत देखिएको प्रतिवेदनमा उल्लेख छ।डिजिटल भुक्तानी प्रणालीको विस्तार उल्लेखनीय रहेको पनि जनाइएको छ।

राजस्व संकलन अझै कमजोर रहेको, पूँजीगत खर्च न्यून रहेको र सार्वजनिक ऋण क्रमशः बढिरहेको प्रतिवेदनले देखाएको छ। तर, समग्र ऋण स्तर भने अझै क्षेत्रीय औसतभन्दा कम भएकाले उत्पादन र रोजगारी बढाउने क्षेत्रमा खर्च गर्ने ‘फिस्कल स्पेस’ रहेको उल्लेख छ।

विश्व अर्थतन्त्रमा स्थायित्व देखिए पनि दक्षिण एशियामा आर्थिक वृद्धिदर सुस्त हुने प्रक्षेपण गरिएको छ। विश्वव्यापी रुपमा केन्द्रीय बैंकहरुले ब्याजदर घटाएर माग बढाउने नीति अपनाइरहेका छन्।

आगामी परिदृश्यः स्थिरता, तर जोखिम

एनआरबीले चालु आर्थिक वर्षमा मुद्रास्फीति करिब ४ प्रतिशत र आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहने अनुमान गरेको छ, जुन सरकारी लक्ष्यभन्दा कम हो। बाह्य क्षेत्र स्थिर रहने र तरलता उच्च रहने प्रक्षेपण गरिएको छ।

तर, भूराजनीतिक तनाव, व्यापार अनिश्चितता र आन्तरिक राजनीतिक संक्रमणजस्ता जोखिमले अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुरु गरिएको उक्त प्रतिवेदनले अर्थतन्त्रको समग्र अवस्था, आगामी परिदृश्य र प्रमुख आर्थिक सूचकहरुको पूर्वानुमान समेटेको छ।

एनआरबीका अनुसार प्रतिवेदनले नीतिगत पारदर्शिता बढाउँदै मुद्रास्फीति र मौद्रिक नीतिबारे अपेक्षालाई स्थिर बनाउन सहयोग पु¥याउनेछ । साथै, तथ्यमा आधारित र अग्रदृष्टि भएको मौद्रिक नीति निर्माणतर्फ केन्द्रित हुन यो प्रतिवेदन आधार दस्तावेजका रुपमा प्रयोग गरिनेछ।

प्रतिक्रिया