शीर्षकहरू

अर्थमन्त्रीको आश्वासनपश्चात थामियो नेप्सेको पहिरो, ११९ अंकको गिरावटपछि १९ अंकको सुधार

लगानीकर्ताले सरकारसमक्ष अघि सारे ८ बुँदे माग

अर्थमन्त्रीको आश्वासनपश्चात थामियो नेप्सेको पहिरो, ११९ अंकको गिरावटपछि १९ अंकको सुधार

काठमाडौं । पछिल्ला दुई कारोबार दिनमा झन्डै ११९ अंकले ओरालो लागेको शेयर बजार मंगलबार भने थामिएको छ । शेयर बजारमा तीव्र गिरावट आएपछि सरकारको ध्यानाकर्षण गराउन पुगेका लगानीकर्तालाई अर्थमन्त्री स्वर्णिम वाग्लेले बजार सुधारका विषयमा स्पष्ट मार्गचित्र कार्यान्वयन हुने विश्वास दिलाएपछि शेयर बजारको गिराट थामिएको हो । 

आइतबार र सोमबार गरेर दुई दिनमै नेप्से करिब ११९ अंकले घटेपछि सक्रिय लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा गएको टोलीले मंगलबार अर्थमन्त्रीसँग भेट गरी बजारमा देखिएको अस्थिरताबारे ध्यानाकर्षण गराएको थियो। उनीहरूले अनपेक्षित गिरावटका कारण लगानीकर्ता त्रसित भएको बताएका थिए।

भेटमा अर्थमन्त्री वाग्लेले सरकारले हाल गरिरहेका कामहरू राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रतिबद्धताभित्रै रहेको स्पष्ट पारे। “शेयर बजारको विकासका लागि बाचा पत्रमै स्पष्ट योजना छ, ती सबै बुँदा कार्यान्वयन हुन्छन्,” उनको भनाइ उद्धृत गर्दै कार्कीले जानकारी दिए। 

अर्थमन्त्रीले बजारलाई प्रभावित पार्ने गरी कुनै नयाँ वा असहज नीति नल्याइने र लगानीकर्तालाई तर्साउने काम सरकारबाट नहुने पनि बताए। उनका अनुसार बजार सुधारका लागि आवश्यक कदमहरू पहिले नै पहिचान भइसकेका छन्।

लगातार दुई कारोबार दिन उच्च अंकले घटेको शेयर बजारमा मंगलबार सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से १९.७० अंकले बढ्दै २८५१.०९ विन्दुमा पुगेको हो। कारोबार रकममा भने कमी आएको छ। 

मंगलबार ३३९ कम्पनीका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा किनबेच भएका छन्। अघिल्लो दिन भने ३४१ कम्पनीका ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरमा कारोबार भएको थियो।

दुई दिनको तीव्र गिरावटपछि आएको यो सामान्य सुधारलाई बजारमा ‘रिबाउन्ड’ का रूपमा हेरिएको छ। तथापि, लगानीकर्ताहरू अझै सतर्क रहँदै बजारको आगामी दिशाबारे पर्ख र हेरको अवस्थामा देखिएका छन्।

विश्लेषकहरुका अनुसार पछिल्ला राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीले बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि उत्पन्न राजनीतिक तनावले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्।

यस्तै,सरकारले सार्वजनिक गरेको सुशासनसम्बन्धी १०० बुँदे कार्ययोजनामा शेयर बजारसम्बन्धी विषय समेटिएको नदेखिएपछि लगानीकर्ता थप सशंकित बनेका छन्। योजना अन्तर्गतका केही बुँदालाई बजारविरोधी रूपमा व्याख्या गरिँदा पनि नकारात्मक मनोविज्ञान बढेको बताइन्छ।

अर्थमन्त्रीको आश्वासनपछि अब लगानीकर्ताले बजारप्रति सरकारको ठोस नीतिगत निर्णय र स्पष्टता अपेक्षा गरेका छन्।

लगानीकर्ताले सरकारसमक्ष अघि सारे ८ बुँदे माग

यस्तै बजारको स्थायित्व र विकासका लागि नेपालका तीन प्रमुख लगानीकर्ता संगठनले सरकारसमक्ष ८ बुँदे माग अघि सारेका छन्। बजारलाई धराशयी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च राख्न तत्काल सुधारका कदम आवश्यक रहेको उनीहरूको निष्कर्ष छ।

लगानीकर्ता संगठनहरूले पूँजीबजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिइने भए पनि सरकारको हालै सार्वजनिक सय दिने कार्ययोजनामा बजार सुधारसम्बन्धी विषय नसमेटिएको भन्दै असन्तुष्टि जनाएका छन्। अर्थमन्त्रीलाई सम्बोधन गर्दै उनीहरूले तत्काल नीतिगत हस्तक्षेप गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा नेपाल धितोपत्र बोर्ड मा विगत केही वर्षदेखि देखिएका आर्थिक चलखेल र आईपीओ निष्कासनसम्बन्धी विवादहरूको छानबिन गर्न स्वतन्त्र उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ। दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको अडान छ।

यस्तै, अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर सम्बन्धी निर्देशिका लामो समयदेखि रोकिएको भन्दै त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, विदेशमा रहेका नेपालीलाई दोस्रो बजारमा बिना सर्त लगानी गर्न दिने व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ।

लगानीकर्ताहरूले कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई प्रिमियम वा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न रोक लगाउनुपर्ने बताएका छन्। साथै, संस्थापकको न्यूनतम ३० प्रतिशत हिस्सा सुनिश्चित गर्दै ‘लक–इन’ अवधि कम्तीमा तीन वर्ष कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्दै नियामक निकायहरू नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा नीति निर्माण गर्दा लगानीकर्ताको सहभागिता अनिवार्य गर्नुपर्ने माग गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज को पुनर्संरचनासम्बन्धी कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गरी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनुपर्ने जोड दिइएको छ। नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल शेयरधनी संघले संयुक्त माग सार्वजनिक गरेका हुन्।

null

 

प्रतिक्रिया