काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने संकेत दिएको छ। होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखुले पनि आगामी केही साताभित्र युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने आकलन गरिएको छ।
अमेरिकी स्रोतहरूका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूसँगको छलफलमा चारदेखि छ साताभित्र सैन्य कारबाही अन्त्य गर्न सकिने धारणा राखेका छन्। यद्यपि जलडमरूमध्यमा अवरोध कायम रहँदा सो क्षेत्रमा इरानको प्रभाव विस्तार हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
ट्रम्पले इरानको नौसैनिक तथा क्षेप्यास्त्र क्षमतामा उल्लेख्य क्षति पुर्याइसकेको दाबी गर्दै अब दीर्घकालीन सैन्य संलग्नताबाट टाढा रहने संकेत दिएका छन्। अमेरिकी प्रशासनका अधिकारीहरूका अनुसार ‘मुख्य लक्ष्य’ पूरा भइसकेपछि विजय घोषणा गर्दै बाहिरिने रणनीति तयार पारिएको छ।
उनले होर्मुजमार्ग अवरुद्ध हुनु मुख्यतः एसिया र युरोपका लागि चुनौती भएको उल्लेख गर्दै उक्त मार्गबाट करिब ८४ प्रतिशत तेल एसियाली बजारमा जाने तथ्य औँल्याएका छन्। अमेरिका भने मध्यपूर्वीय ऊर्जामा निर्भर नरहेको दाबी उनले दोहोर्याएका छन्।
तर जलडमरूमध्यमा अवरोध कायमै रहँदा विश्व बजारमा असर देखिन थालेको छ। कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघिसकेको छ भने मललगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ।
अमेरिकाले आवश्यक परे तेल ट्याङ्करहरूको सुरक्षाका लागि एस्कर्ट व्यवस्था गर्ने वा बहुराष्ट्रिय पहलमार्फत मार्ग खुलाउने विकल्प खुला राखेको भए पनि तत्काल प्राथमिकतामा नरहेको जनाइएको छ।
युद्ध अन्त्यको संकेत दिइए पनि अमेरिकी सैन्य उपस्थिति भने क्षेत्रमा घटेको छैन। युएसएस ट्रिपोली र ३१औँ मरीन एक्सपिडिशनरी युनिट तैनाथ छन् भने ८२ औं एयरबोर्न डिभिजन सहित थप १० हजार सैनिक पठाउने विषयमा समेत विचार भइरहेको छ। यसले एकातिर युद्ध अन्त्यको संकेत र अर्कोतर्फ सैन्य सुदृढीकरणबीच विरोधाभास देखिएको छ।
यसैबीचट्रम्पले जलडमरूमध्य नखुलाए इरानको नागरिक ऊर्जा संरचनामा आक्रमण गर्न सकिने चेतावनी दिएका छन्।
ह्वाइट हाउसले भने केही तेल ट्याङ्करहरूको आवागमन सुरु हुनुलाई अमेरिका–इरानबीच जारी कूटनीतिक संवादको परिणामका रूपमा व्याख्या गरेको छ। प्रेस सचिव क्यारोलिन लेविट ले इरानले चयनात्मक अनुमति दिएको आरोप अस्वीकार गर्दै कूटनीतिक पहलकै कारण आवागमन सम्भव भएको बताइन्।
उनका अनुसार सुरुमा १० ट्याङ्करलाई अनुमति दिइएकोमा थप २० ट्याङ्कर तयारी अवस्थामा छन्। यसअघि ट्रम्पले पनि ‘सद्भावको संकेत’स्वरूप इरानले ट्याङ्करलाई मार्ग प्रयोग गर्न दिएको बताएका थिए।
उता इरान ले भने जलडमरूमध्य व्यवस्थापनका लागि नयाँ योजना अघि बढाएको छ। इरानी संसद्को सुरक्षा समितिले जहाजबाट टोल असुल गर्ने, सुरक्षा कडाइ गर्ने तथा कानुनी ढाँचा निर्माण गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ। योजनामा अमेरिका र इजरायलसँग सम्बन्धित जहाजहरूमा प्रतिबन्ध लगाउने तथा ओमानसँग सहकार्य गर्ने प्रावधान समेटिएको छ।
दोस्रो महिनामा प्रवेश गरेको अमेरिका–इरान तथा इजरायल संलग्न द्वन्द्वका बीच आएको पछिल्लो विकासले विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एकमा तेहरानले नियन्त्रण सुदृढ गर्ने रणनीति स्पष्ट भएको विश्लेषण गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया