शीर्षकहरू

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन : सडक, संसद् र कानूनी बाटोबाट प्रतिवाद

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी प्रदर्शन : सडक, संसद् र कानूनी बाटोबाट प्रतिवाद

काठमाडौँ। पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले देशभर एकताबद्ध विरोध प्रदर्शन गर्ने भएको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले सडक, सदन र कानूनी बाटोबाट प्रतिवाद गर्ने स्पष्ट निर्णय गरेको छ।

बैठकपछि महासचिव शंकर पोखरेलले भने, “अध्यक्षको गैरकानुनी गिरफ्तारीविरुद्ध संसद्, सडक, कानुन र राजनीतिक माध्यमबाट शान्तिपूर्ण तर द्रुत प्रतिवाद गर्ने निर्णय गरिएको छ। हामी राजनीतिक दल, नागरिक समाज सबैमा एकताबद्ध प्रतिवादका लागि हार्दिक अनुरोध गर्दछौं।”

एमालेले चैत २४ गते सबै स्तरमा कार्यक्रम सञ्चालन गर्ने, वैशाख १२ मा राजधानी काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। त्यस्तै, वडा, पालिका र प्रदेश राजधानीहरूमा क्रमशः भेला र प्रदर्शन कार्यक्रम हुने महासचिव पोखरेलले बताए।

सचिवालय बैठकले आन्दोलनको स्वरूप परिवर्तन गर्दै सर्वपक्षीय नागरिक संवाद सञ्चालन गर्ने निर्णय गरेको छ। यसको लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाही जिम्मेवारी पाएका छन्।

सरकारले विश्वविद्यालय र कर्मचारी संगठनसम्बन्धी निर्णय लागू गर्ने तयारी गरेकोबारे एमालेले जनसंगठनलाई सक्रिय बनाउने योजना बनाएको छ। संसदीय दलभित्र सहकार्य र प्रभावकारी प्रस्तुति सुनिश्चित गर्न उपाध्यक्ष रामबहादुर थापा 'बादल' र सचिव पद्मा अर्याल लाई जिम्मेवारी दिइएको छ।

एमाले सचिवालयले निर्धारित कार्यक्रम अनुसार देशव्यापी विरोध प्रदर्शन, भेला र संवादमार्फत सरकारको प्रतिशोधपूर्ण कदमको विरुद्ध शान्तिपूर्ण तर द्रुत प्रतिवाद जारी राख्ने प्रतिबद्धता जनाएको छ।

नेकपा (एमाले) सचिवालय बैठकका निर्णय

पूर्वप्रधानमन्त्री  एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः

१) चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने।

२) चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३) वैशाख ३ गते वडा तहमा भेला गर्ने। 

४) वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५) वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६) सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७) सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो।

८) संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९) आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

प्रतिक्रिया