काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सार्वजनिक पदमा नियुक्ती पाएकाे आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेश पोख्रेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडमा कम्पनी सचिव पदमा नियुक्त भएका पोख्रेलले झुटा शैक्षिक योग्यता पेश गरेको निष्कर्षसहित आयोगले आज मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कम्पनी सचिव पदका लागि कानुन विषयमा स्नातक उत्तीर्ण हुनुपर्ने प्रावधान रहे पनि एमबीएस योग्यता भएका पोख्रेललाई नियुक्त गरिएको भन्दै उजुरी परेको थियो। सोही उजुरीमाथि अनुसन्धान गर्दा योग्यता नपुगेको नियुक्ति भएको पुष्टि भएपछि नियुक्ति बदर गरी उनले पाएको सेवा–सुविधा असुलउपर गर्न माग गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार झुटा शैक्षिक प्रमाणपत्रका आधारमा सार्वजनिक पदमा रही काम गरेका पोख्रेलले सेवा अवधिमा एक करोड सात लाख एक हजार ५८४ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याएका छन्। उक्त रकम असुलउपरसहित आवश्यक कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो।
आर्थिकन्यूज
प्रतिक्रिया