काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच पहिलो शिष्टाचार भेट भएको छ। गभर्नर पौडेलका स्वकीय सचिव शरण कुमार अधिकारीका अनुसार भेट करिब एक घण्टा चलेको र यसमा बैंकिङ क्षेत्र, रेमिट्यान्स प्रवाह र बाह्य क्षेत्रको अवस्था लगायत विभिन्न विषयमा छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री शाहले भेटको क्रममा गभर्नर पौडेललाई कसैसँग डर वा प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन्। विशेष गरी प्रधानमन्त्री शाहले ऋण दुरुपयोग गर्ने र सम्पत्ति शुद्धीकरणमा गलत अभ्यास गर्ने व्यक्तिहरुको कारवाहीमा राष्ट्र बैंक सक्रिय रहोस् भन्ने अपेक्षा राखेका थिए।
सरकारले हाल सम्पत्ति शुद्धीकरण विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो र अन्य निकायमार्फत वित्तीय अपराधको अनुसन्धान तीव्र बनाएको छ, जसमा राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने जिम्मेवारी पाएको छ।
भेटमा प्रधानमन्त्री शाहले हाल बैंकिङ क्षेत्रमा देखिएका चुनौती, रेमिट्यान्स आप्रवाह, बाह्य क्षेत्रको अस्थिरता र त्यसको अर्थतन्त्रमा पर्ने प्रभावबारे चासो व्यक्त गरेका थिए। राष्ट्र बैंकले गर्नुपर्ने कार्यमा आएका अवरोध र त्यसमा सरकारले दिन सक्ने सहजीकरणका विषयमा पनि छलफल भएको थियो।
गभर्नर पौडेलले भेटमा नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रिक्त भएको विषय उठाएका थिए। तर प्रधानमन्त्री शाहले यस विषयमा खासै चासो नदेखाएको बताइएको छ । राष्ट्र बैंकमा हाल १८ कार्यकारी निर्देशकमध्येबाट दुई जना डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।
भेटको क्रममा गभर्नरले ठूला पूर्वाधार निर्माण परियोजना, फास्ट ट्रयाक निर्माण, रेलमार्ग विस्तार लगायत आर्थिक विकाससँग सम्बन्धित पहलहरूमा पनि छलफल गरेका थिए। उनले काठमाडौंबाट दिल्लीसम्म रेलमार्ग निर्माणका सम्भावित योजना, खर्च व्यवस्थापन, र छोटो अवधिमा परियोजना सञ्चालनका उपायहरूबारे सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले गभर्नरलाई छोटो अवधिमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने प्राथमिकता स्पष्ट गर्दै आर्थिक विकास र बैंकिङ क्षेत्रको सुधारका लागि आवश्यक कदमहरू चाँडै चाल्न आग्रह गरेका थिए। गभर्नरले पनि ठूला परियोजनाहरूमा काम सुरु भए देशको खर्च व्यवस्थापन र आर्थिक विकास दुवैमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
यसअघि आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्विपक्षीय छलफल गरेका थिए, जसमा बजेट निर्माण, राजस्व परिचालन र वित्तीय व्यवस्थापनसम्बन्धी विषयमा छलफल भएको थियो। यस भेटले नयाँ सरकार र राष्ट्र बैंकबीचको सहकार्य, वित्तीय सुधार र बैंकिङ क्षेत्रको स्थायित्व सुनिश्चित गर्न नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया