काठमाडौँ। सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारणका लागि ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको कम्पनीले ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइसकेको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन वैशाख ६ गतेसम्म खुला रहनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख १६ गतेसम्म अवधि थपिनेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सि-आस्बा प्रणाली वा मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आईपीओका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
कम्पनीका अनुसार साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र छुट दरमा ११.३५ वर्ष रहेको छ। आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको तथा खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ।
आर्थिकन्यूज
प्रतिक्रिया