शीर्षकहरू

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, नेप्सेले सार्वजनिक गर्‍यो सूची

आगामी वैशाख २ गतेदेखि ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा सुरु हुने

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, नेप्सेले सार्वजनिक गर्‍यो सूची

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबारका लागि योग्य १२३ सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई योग्य ठहर गर्दै सूची सार्वजनिक गरिएको हो।

नेप्सेका अनुसार अब ती कम्पनीहरूको सेयर धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण लिएर (मार्जिन लोन) थप सेयर खरिद-बिक्री गर्न सक्नेछन्। कार्यप्रक्रियाको दफा ९ अनुसार यो सूची कार्यान्वयनमा आउनेछ।

मार्जिन कारोबारका लागि योग्य कम्पनी भन्नाले पर्याप्त बजार पूँजीकरण, उच्च तरलता, सर्वसाधारणमा पर्याप्त सेयर वितरण (पब्लिक फ्लोट), नाफामा रहेको तथा सकारात्मक नेटवर्थ भएका कम्पनीहरूलाई जनाइन्छ। यस्तै, नियमित रूपमा वित्तीय विवरण सार्वजनिक गर्ने र नियामक निकाय नेपाल धितोपत्र बोर्ड को कारबाही वा निगरानीमा नपरेका कम्पनी मात्र यसमा समावेश गरिन्छन्।

नयाँ सूचिमा सबै वाणिज्य बैंक समेटिएका छन् । सूचिमा ११ विकास बैंक परेका छन् र ६ विकास बैंक बाहिरिएका छन्। वित्त कम्पनीतर्फ ११ समेटिँदा ७ कम्पनी सूचिमा परेका छैनन्। लघुवित्त समूहबाट १७ कम्पनी, १२ जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी पनि सूचिमा छन्।

ऊर्जा क्षेत्रतर्फ २४ जलविद्युत कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य ठहरिएका छन्। बीमा क्षेत्रअन्तर्गत हिमालयन रिइन्स्योरेन्स समेटिँदा नेपाल रिइन्स्योरेन्स भने यसपटक सूचिबाहिर परेको छ।

मार्जिन कारोबारले लगानीकर्तालाई सीमित पूँजीमा बढी लगानी गर्ने अवसर दिने भए पनि जोखिम उच्च हुने भएकाले नियामक निकायले समय–समयमा यस्तो सूची परिमार्जन गर्दै आएको छ।

वैशाख २ देखि ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा सुरु हुने

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल ले आगामी वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा सुरु हुने जनाएको छ।

एसोसिएसनले मंगलबार विज्ञप्ति जारी गर्दै मार्जिन कारोबारका लागि योग्य ब्रोकरमार्फत उक्त सुविधा लगानीकर्तालाई उपलब्ध गराइने जानकारी दिएको हो। बैठकले मार्जिन कारोबारसम्बन्धी ब्रोकरहरूको कार्यप्रक्रिया समेत पारित गरेको छ।

बजार नियामक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले आवश्यक निर्देशिका र कार्यप्रक्रिया तयार गरेपछि ब्रोकरहरूले आफ्नै कार्यप्रक्रिया निर्माण गरेका हुन्।

एसोसिएसनका अनुसार सबै तयारी पूरा भए पनि केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेकाले वैशाख २ देखि सेवा सञ्चालनमा ल्याउन लागिएको हो। उक्त सुविधामार्फत लगानीकर्ताले सेयर धितो राखेर ऋण लिएर थप खरिद–बिक्री गर्न सक्नेछन्।

धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ यसअघि नै जारी गरिसकेका छन्।

प्रतिक्रिया