शीर्षकहरू

साहस ऊर्जालाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको बाटो खुल्यो

साहस ऊर्जालाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको बाटो खुल्यो

काठमाडौँ। साहस उर्जा लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ।

कम्पनीले २१ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको आधारमा सोही बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो। आयोगमा चैत १२ गते निवेदन दिएको कम्पनीलाई सोही दिन बसेको बैठकले पूर्व स्वीकृति दिएको हो।

नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि आवेदन दिनुअघि विद्युत नियमन आयोगको स्वीकृति आवश्यक पर्ने प्रावधानअनुसार कम्पनीले यो प्रक्रिया पूरा गरेको हो।

हकप्रद सेयरबाट उठ्ने रकम बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्ने योजना कम्पनीको छ । जसको क्षमता ३४०.४२३ मेगावाट रहेको छ। उक्त आयोजना टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको छ।

कम्पनीले गत मंसिर २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गरिसकेको थियो। यस वर्ष कम्पनीले कुल २२.१० प्रतिशत लाभांश वितरण गरेको छ, जसमा २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश समावेश छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ९० करोड ४८ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ भने जगेडा कोष ३ अर्ब २२ करोड रुपैयाँभन्दा माथि पुगेको छ। प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ७२ पैसा रहेको कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गरेको जनाएको छ।

प्रतिक्रिया